• १० फागुन २०८१, शनिबार

विश्वविद्यालय फर्किन डराउँछन् विद्यार्थी

blog

जटही नाका हुँदै नेपाल फर्केका किटमा अध्ययनरत विद्यार्थी । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ९ गते । भारत ओडिसाको भुवनेश्वरस्थित किट युनिभर्सिटीमा भएको घटनापछि स्वदेश फर्किएका नेपाली विद्यार्थी पुनः अध्ययनका लागि युनिभर्सिटी फर्कन डराइरहेका छन् । 

उक्त युनिभर्सिटीमा अध्ययनरत भैरहवाकी  प्रकृति लम्सालको होस्टलभित्रै भएको मृत्युको उचित छानबिन गर्न माग गर्दैै आन्दोलनरत नेपाली विद्यार्थीमाथि त्यहाँको प्रशासन र प्रहरीले गरेको ज्यादती गरेको थियो । त्यसपछि जबरजस्ती युनिभर्सिटीबाट निकालिएका उनीहरू निकै दुःख खेप्दै मङ्गलबार राती स्वदेश फर्किएका थिए । 

स्वदेश फर्कन बाध्य विद्यार्थीले मानसिक तनावका कारण अस्वस्थ भएको बताएका छन् । उनीहरू अब त्यहाँ  फर्किएर पढाइ पूरा गर्ने कि नगर्ने भन्ने दुबिधामा छन् ।  विद्यार्थी भन्छन्, “प्रकृतिको मृत्युको घटनापछि युनिभर्सिटीले उर्दी जारी गरेपछि आधा घण्टामा सबै नेपाली विद्यार्थीले होस्टेल छोड्नु प¥यो । त्यहाँ हाम्रो कुनै सुनुवाइ भएन । सुरक्षित रहन हामी जसोतसो घर त आइपुग्याँै  तर भविष्यको चिन्ता लागिरहेको छ । फेरि त्यहाँ फर्किएर जाँदा सुरक्षित हुने हो कि होइन ? हामीले त्यहाँ अध्ययनका लागि गरेको लगानी धेरै छ । सुरक्षित वातावरणमा नफर्र्किए लगानी र समय दुवै खेर जान्छ ।” 

विद्यार्थीले युनिभर्सिटीका प्रशासन र वार्डनहरूले मानवीय व्यवहारसमेत नगरेको, निकै डर धम्की दिएको भन्दै यस विषयमा नेपाल सरकार गम्भीर बनिदिनुपर्ने बताएका छन् । 

हतारमा होस्टेल छाड्न उर्दी जारी गरेपछि विद्यार्थीहरू जुन अवस्थामा थिए, त्यही अवस्थामा स्वदेश फर्कंदा कतिपयले ल्यापटप, ब्याग त्यहीँ छुटेको गुनासो गरेका छन् । होस्टेलबाट ढिलो गरी निस्कनेमाथि प्रहरी लगाएर कुटपिट गरिएको विद्यार्थीको गुनासो छ ।  

जनकपुरधाम र सप्तरीका १२ भन्दा बढी विद्यार्थी धनुषाको जटही नाका हुँदै नेपाल फर्किएका थिए । सोही टोलीमा फर्किएका जनकपुरधाम निवासी छात्र अवनिश पाण्डेले भन्नुभयो, “ज्यान जोगाएर नेपाल आएका छौँ । हामीले होस्टेलमा भएका सामान समेट्ने समय पनि पाएनौँ । हामीमाथि सुरक्षाकर्मीबाट नराम्रोसँग कुटपिट भयो ।” जनकपुरधाम निवासी वेदानन्द मण्डलका अनुसार प्रकृतिलाई झुन्डिएको अवस्थामा धेरै समय राखियो । तत्काल उद्धार गरिएको भए सम्भवतः उहाँको ज्यान जोगिन्थ्यो ।

प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीमाथि अनावश्यक दमन गरिएको र उनीहरूलाई कोठामा थुनेर कुटपिट गरिएको पीडितको भनाइ छ । विद्यार्थीले शरीरमा देखिएका चोट तथा डाम देखाउँदै स्थानीय गुण्डासमेत बोलाएर सिसिटिभी बन्द गरी आफूहरूलाई कुटपिट गरेको उनीहरू बताउँछन् ।