गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश) दीनानाथ मिश्रसहित सात जनाविरुद्ध्र भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी कागजात सच्याएर गलत लिखत बनाई भ्रष्टाचार गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार मिश्रसहित सोही कार्यालयका तत्कालीन सर्वेक्षक तथा हाल पर्सा जिल्लाका नापी अधिकृत शिवबालक साह, मालपोत कार्यालय बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, बाराको जितपुर सिमरा उपमहानगरपालिकाका लेखापढी व्यवसायी जयलाल सहनी, सोही उपमहानगरपालिकाका जग्गाधनी सुदामाप्रसाद चौधरी थारू र रामपतिदेवी थरूनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
त्यस्तै नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनीलकुमार झाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उहाँहरू सबै जनालाई जनही एक लाख ५० हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।