अविनाश चौधरी
धनगढी, फागुन ८ गते। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सुरु भएको छ।
तालिम तथा रोजगार व्यवसायी महासङ्घको समन्वयमा धनगढी उपमहानगरपालिकाले मेलाको आयोजना गरेको हो। मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो। सो क्रममा उहाँले पश्चिमसेती र माथिल्लो कर्णालीलाई अगाडि बढाउने गरी सरकारले प्रक्रिया थालेको उल्लेख गर्नुभयो। उहाँले सीप तथा रोजगार मेलाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मेलामा एक हजार ४० जनालाई सीपमूलक तालिम प्रदान गर्ने जनाइएको छ। एक महिनासम्म आयोजना हुने मेलामा विभिन्न आठ विधामा २९ किसिमको तालिम प्रदान गरिने आयोजक धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले बताउनुभयो।
मेलामा पेन्टर, वेटर, पुरोहित, तालिम मार्बल फिक्स्चर, फेसन डिजाइन, एडभान्स ब्युटिसियन, लेखा व्यवस्थापन, एडभान्स टेलरिङ लगायतका तालिम प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।