• ९ फागुन २०८१, शुक्रबार

निर्वाचनमा नागरिक सहभागिता अझै बढाउनुपर्ने

blog

नवौंँ निर्वाचन दिवसका अवसरमा बुधबार आयोगपरिसरमा आयोजित कार्यक्रममा निर्वाचन स्मारिका २०८१ र नेपालको निर्वाचन इतिहास–३ पुस्तक विमोचन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया ।तस्बिर : कविन अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा नागरिक सहभागिता अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले स्वतन्त्रताको सारभूत तत्व जनसहभागितामूलक निर्वाचन रहेको तर्क गर्दै सो धारणा व्यक्त गर्नुभयो । 

नवौं निर्वाचन दिवसका अवसरमा बुधबार आयोगपरिसरमा आयोजित ‘निर्वाचनको प्रभावकारिता : निर्वाचन प्रक्रियामा आमनागरिकको सहभागिता’ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कानुन र व्यवस्थाको कारणले देशमा रहँदारहँदै मतदान गर्नबाट वञ्चित हुनु परेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एक करोड ७९ लाख मतदातामध्ये ४०/४२ लाख विदेशमा छन् । १२ देखि १५ लाख स्वदेशमै रहेकाले पनि मतदान गर्न पाएनन् । विभिन्न देशमा घरबाटै मतदान गर्ने व्यवस्था छ । आयोग र यसको संयन्त्र अब नागरिकसम्म पुग्छ र सहभागिता बढाउन केन्द्रित हुन्छ ।”

प्रमुख आयुक्त थपलियाले निर्वाचन महँगो भनेर भाष्य निर्माण गरिएकोमा आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “एक मतदाता बराबर पाँच रुपियाँ खर्च भएको छ । निर्वाचनमा गरिने खर्च बढेको भन्दा घटेको छ । यसलाई दिग्भ्रमित पार्ने प्रयास भयो ।” सो अवसरमा आयोगका सचिव भरतमणि सुवेदीले आयोगले विगतको भन्दा निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताउनुभयो । 

आयोगले निर्वाचन दिवसको अवसर पारेर निर्वाचन स्मारिका २०८१ र नेपालको निर्वाचन इतिहास–३ पुस्तक विमोचन गरेको छ । सोही अवसरमा आयोगले दोलखा, स्याङ्जा र डडेलधुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरेको छ । शाखा अधिकृत युवराज गुरागाईं, नासु हेमन्तराज ढकाल र कुचिकार लक्ष्मीनाने च्यानेसहित विभिन्न प्रदेश र जिल्ला कार्यालयमा कार्यरत १० जना उत्कृष्ट कर्मचारीलाई आयोगले पुरस्कृत गरेको थियो ।