काठमाडौँ, फागुन ७ गते। नेपाल र ओमनकाबिच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरुकबिच आज ओमनको राजधानी मस्कटमा भएको भेटवार्तापछि सो समझ्दारी भएको हो।
यस समझदारीपछि दुई देशबिचमा पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन सूचना एवं ‘हस्पिटालिटी’ का क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान र समन्वय हुनेछ। सो भेटका क्रममा उहाँबिचमा नेपालमा पर्यटनका क्षेत्रमा गर्न सकिने लगानी एवं दुवै देशको पर्यटकीय सम्भावना र आदानप्रदानका विषयमा कुराकानी भएको थियो।
त्यसैगरी आज नै मस्कटमा मन्त्री डा. देउवा र ओमनका ऊर्जा तथा खनिजसम्बन्धी मन्त्री सलिम बिन नसर अल अउफीबिच पनि भेटवार्ता भएको थियो। उहाँहरुबिच दुई देशको सम्बन्ध तथा ऊर्जाका क्षेत्रमा रहेका सम्भावित आपसी सहकार्य र लाभका बारेमा कुराकानी भएको थियो।