• ९ फागुन २०८१, शुक्रबार

‘हिमाल र गुरुङ संस्कृति हेर्न घान्द्रुक’

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ७ गते । तरोताजा गुरुङ संस्कृति र मनमोहक प्रकृतिले चिनिएको घान्द्रुक अहिले उत्सवमय छ । एकै दिन दुई हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताका ६० होटल र ३० होमस्टे यहाँ छन् । होमस्टे र गुरुङ संस्कृतिमा रमाउनेहरु बाक्लै यहाँ पुग्छन् भने पदयात्रा मार्गमा पर्ने भएकाले स्वदेशी र विदेशीको बासस्थल पनि हो घान्द्रुक।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको बताउनुहुन्छ । घान्द्रुकबाट भैसीखर्क टाडापानी, वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी पदयात्रा रुट हो ।

घान्द्रुुक हुँदै टाडापानी इसरु, दोबाटो, मुल्डे हुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने घान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण बेसक्याप जाने पर्यटक हिड्छन् । पोखराबाट साढे दुई घन्टाको यात्रामा पुग्न सकिने यो गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्छ । 

घान्द्रुकमा बुधबारदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सव अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गर्नुभयो । अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको उल्लेख गर्नुभयो । उहाँले गुरुङ संस्कृति र उत्तरतिर आँखैअघि देखिने सुन्दर हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने उल्लेख गर्नुभयो । 

घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति अब घान्द्रुकको मौलिकता जोगाउनु आवश्यक रहेको विचार राख्नुभयो । “सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाए पनि त्यसलाई फेरि मौलिकतामा ढालौं । पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखरा प्रमुख डा रविन कडरियाले घान्द्रुक एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हबको रुपमा अगाडि बढेको उल्लेख गर्नुभयो । प्रमुख कडरियाले भन्नुभयो, “घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।”

घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले बिहीबारदेखि खुला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने जानकारी दिनुभयो । क्लबस्तरीय भलिबल र खुला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः एक लाख २२ हजार दुई सय २२ र  उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । 


महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताका विजेताले नगद ३० हजार र उपविजेता टिमले २० हजार रुपियाँ पुरस्कार पाउने छन् । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।