काठमाडौँ, फागुन ७ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयन अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने बताउनुभयो ।
आजको दिन अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो सङ्गठित, सशक्त र सशस्त्र आन्दोलन हो भन्नुभएको छ ।
“लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा प्रजातान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउन अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ”, अध्यक्ष दाहालले सन्देशमा भन्नुभएको छ । उहाँले लोकतन्त्रको रक्षा, अभिव्यक्ति स्वतन्त्रता एवं देशको समृद्धि र विकासका लागि एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।