• १ असार २०८२, आइतबार

वडाध्यक्षबाट सचिव कुटिएपछि बन्दीपुरका कर्मचारी आन्दोलित

blog

घाइते भएर अस्पतालमा भर्ना हुनुभएका कर्मचारी नवीन भुषाल।

अमरराज नहर्की

तनहुँ, फागुन ६ गते। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटाइबाट सोही वडामा कार्यरत वडा सचिव नवीन भुषाल सख्त घाइते भएपछि बन्दीपुर गाउँपालिका कर्मचारी आन्दोलित भएका छन्।

अति आवश्यक सेवा प्रवाह बाहेकका सबै सेवा बन्द गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयो।  

दोषीलाई कडा कारबाहीको माग राख्दै सुरक्षा निकायलाई पत्रचार गरिएको आचार्यले बताउनुभयो। 

गाउँपालिका सबै कर्मचारीले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोमबार भएको कुटपिट र दुर्व्यवहारपूर्ण घटनाप्रति बन्दीपुर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले घोर निन्दा एवं भत्सर्ना गरेको छ। 

सोमबार बिहान वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल भुक्तानीलाई लिएर सोही वडाका वडाध्यक्ष बलबहादुर गुरुङले आवेशमा राष्ट्रसेवामा समर्पित र प्रतिबद्ध राष्ट्रसेवक कर्मचारी वडा सचिवमाथि कार्यकक्षमै घाँटी निचोरी मुक्का प्रहार गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले शान्तिपूर्ण, विधिपूर्ण, तटस्थतापूर्ण कार्य गर्ने वातावरण नभएको र आफ्नो जीउज्यान माथिको गम्भीर खतराको रूपमा लिएको उल्लेख गरिएको छ । 

वडाध्यक्ष गुरुङले कार्यकक्षमै सोमबार कुटेर घाइते बनाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। 

भलिबल प्रतियोगितामा इस्टिमेट भन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाध्यक्षले आक्रमण गरेका थिए। 

अध्यक्ष गुरूङको प्रहारबाट घाइते वडा सचिव भुषालको अनुहार र घाँटीको भागमा चोट लागेको छ।  कुटपिटबाट घाँटी सुनिएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो। 

घटनाको नेपाल निजामती सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समितिका तनहुँका अध्यक्ष भगवान त्रिपाठी, राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) जिल्ला कार्य समितिका तनहुँका अध्यक्ष तीर्थ थापाले सयुक्त रूपमा विज्ञप्ति जारी गरी निन्दा गर्नुभएको हो। 

कर्मचारीलाई कार्यालयमा काम गर्न अनुकुल वातावरण उपलब्ध गराउन सके मात्र उसले तोकिएका जिम्मेवारी बहन गर्न सक्ने र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने उल्लेख गर्दै यस्ता आपराधिक घटनाले सम्पूर्ण कर्मचारीलाई कति सुरक्षित वातावरणमा काम गरिरहेका छौँ भन्ने गम्भीर सवाल उत्पन्न भएको उल्लेख छ।