• ८ वैशाख २०८२, सोमबार

ओडिसा घटनाको छानविन होस् : सांसद विश्वकर्मा

blog

राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्मा मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन ६ गते । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिसा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ ।  सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ ।’’

सदस्य विश्वकर्माले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकालिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले प्रकृति लम्सालले आफूमाथि दुर्व्यवहार भइरहेको रिपोर्ट गरेको भए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गर्दा यस्तो घटना भएको भनाइ व्यक्त गर्नुभयो । उहाँले उक्त घटनाम संलग्न अपराधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘‘भारतको ओडिशा राज्यको कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलका प्रकृति लम्सालको शङ्कास्पद रुपमा होस्टेलमा मृत फेला पर्‍यो । त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले प्रशासनलाई दबाब हाले ।,’’ सदस्य विश्वकर्माले भन्नुभयो, ‘‘त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानबिन गर्नुको बदला विद्यार्थीलाई निष्काशन गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरुलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो । यो अत्यन्तै दुःखद घटना हो । लम्सालले रिपोर्ट गर्दासमेत त्यहाँको प्रशासनले कुनै पनि सुरक्षाको प्रत्याभूति गरेन । त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ । अहिले त्यहाँका विद्यार्थीहरुले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरुमाथि जुन दुर्व्यवहार भएको छ ।’’
उहाँले नेपाली विद्यार्थीमाथि भएको ज्यादतीमा पहल गर्न  सरकारसँग माग गर्नुभयो ।

यसैगरी, सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताउनुभयो । उहाँले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको जिकिर गर्नुभयो ।

विश्वविद्यालयले घटनाको छानबिन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाउनुभयो । यस घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले ओडिसा घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । बिटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शङ्कास्पद ‘मृत्यु’ पश्चात् विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन् ।