बिजलपुरा समाचारदाता
बिजलपुरा (महोत्तरी), फागुन ६ गते । महोत्तरीको बर्दीबास नगरपालिकास्थित रातुखोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग राखेका छन् । चालु आर्थिक वर्षका लागि बर्दीबास नगरपालिकाले रातु नदीको उत्खनन गर्न ठेक्का लगाएको छ । ठेक्केदारले तोकेको मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्दा त्यसको विरोध स्थानीयले गरेका किसाननगरका स्थानीय सुरेन्द्र यादले बताउनुभयो ।
रातु नदीको अधिक दोहन हुँदा यहाँको बस्ती तथा जैविक विविधतामा जोखिम बढेको तराई मधेश सांस्कृतिक अनुसन्धान प्रतिष्ठान बर्दीबासका अध्यक्ष राजकरण महतोले बताउनुभयो । उहाँका अनुसार रातु नदीको सभ्यता बचाउनका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने आवश्यकता भइसकेको छ । अवैध उत्खनन रोक्न स्थानीय गत वर्ष सर्वोच्च अदालतसम्म पनि पुगेका थिए । अदालतमा दायर गरिएको मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ ।
तीन फिट मात्रै नदीजन्य पदार्थ उठाउनुपर्ने, ठुला मेसिन प्रयोग गर्न नहुने, पुलबाट पाँच सय मिटर टाढैबाट नदीजन्य पदार्थ निकाल्नुपर्ने, सूर्य उदयदेखि अस्ताउने समयमा मात्रै नदी उत्खनन हुनुपर्ने जस्ता मापदण्ड बनाइएको भए पनि त्यसको पालना हुन सकेको छैन । ठेकेदारले ती सबै मापदण्डको उल्लङ्घन गरेको स्थानीयले आरोप लगाएका छन् ।
आइतबार उपप्रमुख तारादेवी महतोको नेतृत्वमा गएको अनुगमन टोलीले ठेकेदारले मापदण्डविपरीत उत्खनन गरेको पाइएको छ । छ फिटसम्म उत्खनन गरिएको, मध्यरातमा पनि उत्खखन गर्ने गरिएको, पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिएको पाइएको छ ।
तीन फिट गहिराइ गरेर मात्र बालुवा, ढुङ्गा, गिटी निकाल्न पाइने गरी बर्दीबास नगरपालिकाले खोला ठेक्का लगाएको नगरपालिकाका राजस्व शाखाका अधिकृत सजीव बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा कानुन र प्रव्रिmया पूरा गरेर कुल दुई लाख ९४ हजार ६८१ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का बन्दोबस्त गरिएको छ । त्यसबाट कुल आठ करोड ४० लाख ९३ हजार १४१ रुपियाँ (भ्याटबाहेक) राजस्व उठ्छ ।”
उहाँका अनुसार पहिलो चरणमा खोलाको अनुगमन गरिएको छ । कुनै कुनै ठाउँमा बढी नै खनेर नदीजन्य पदार्थ झिकिएको देखिन्छ । त्यसैले ठेकेदारलाई सचेत गराइएको छ । रातुखोला उत्खननमा भएको कमीकमजोरीलाई सुधार गर्न ठेकेदारलाई निर्देशन दिएको उपप्रमुख तारादेवी महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “खोला क्षेत्रमा मापदण्डविपरीत उत्खननबारे हामीले अनुगमन गरेको हौँ । धेरै कमीकमजोरी देखिएका छन् ।”
पथलैया खण्डस्थित झोलुङ्गे पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिएको छ । पुल नजिकैबाट खन्न नपाइने प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले पुल नजिकैबाट पनि नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको छ । हामीले सचेत गराएका छौँ । नमाने कारबाही गर्छौं ।” पुलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने व्यवस्था रहेको छ तर रातुखोलाको पथलैया खण्डस्थित झोलुङ्गे पुलको दुई सय मिटर नजिकैबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ ।
जिल्ला अनुगमन समितिका सदस्यसमेत रहेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कबाडीले मापदण्डविपरीत भएका उत्खननलाई तत्काल रोक्ने बताउनुभएको छ । अवैध रूपमा हुने खोलाको उत्खननले नदी किनारका बस्ती र खेतीयोग्य जग्गाजमिन बाढीले कटान, डुबान र बालुवाको पटानले प्रभावित हुँदै आएको छ ।