गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा महिला कलाकारका सामूहिक कला प्रदर्शनी सुरु भएको छ । महिलाले आफ्नो थुप्रै पहिचान र परिचयका साथ न्याय गर्दै पनि सिर्जनाको माध्यमबाट गर्ने अनुभूति, खुसी, गौरवका चित्रकलाको प्रदर्शनीको आयोजना गरिएको हो ।
कलाकार सविता डङ्गोलले एक जना महिलाले छोरी, बुहारी, श्रीमती र आमालगायत थुप्रै परिचयसँगै फेरिने जिम्मेवारीका बिच पनि समग्र महिलाले गर्ने अनुभूति, उनीहरूका चित्रले समाज र देशको समृद्धिका लागि दिने सन्देशसहितका १४ जना कलाकारको सिर्जना एकै स्थानमा हेर्ने अवसर रहेको जानकारी दिनुभयो ।
हजुरआमा, आमाहरूका पालासम्म घरभित्र र खेतीपातीमा सघाउने काममा महिलाले आफूलाई पारङ्गत र हरघडी खटिन सक्ने बनाउनु पथ्र्यो भने हाल शिक्षा, सिपसँगै घरबाहिरका सिर्जनात्मक काम र कार्यालयको काममा पनि महिलाले आफूलाई अब्बल देखाउने अभ्यास गरिरहेकै छन् । सिर्जना क्षेत्रमा संलग्न महिलाले पनि सबै जिम्मेवारी पूरा गर्दै महिलासँग मात्र भएका प्रजनन क्षमता, ममता, वात्सल्य र एकताबद्ध गर्न सक्ने गुणलाई रङ र ब्रसको माध्यमबाट क्यानभासमा उतार्नुभएको छ ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, सविता डङ्गोल, एरिना ताम्राकार, विधाता केसी, सुशीला सिंह, महिमा सिंह, कृषा ताम्राकार, प्रमिला वज्राचार्य, रजनी सिङ्ख्वाल, रन्जु यादव, सङ्गी श्रेष्ठलगायतका चित्रले नेपालको सबै क्षेत्रका लोक र मौलिक चित्र बनाउने शैली र विविधतालाई झल्काउँछ ।
फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा महिला कलाकारका सिर्जनामा मिथिला, आधुनिक, मूर्त र अमूर्त भावका चित्रहरू समावेश छन् भने उक्त चित्रहरू अङ्कित टिसर्ट पनि प्रदर्शनीमा राखिएका छन् ।