चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २ गते। ताप्लेजुङको आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल विद्यार्थी (खेलाडी) लाई सम्मान गरेका छन्। आफ्ना पालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई विभिन्न विधामा विभिन्न पदकमा विजयी हुन सफल विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेका हुन्।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा भएको प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाले २० स्वर्ण, २० रजत र १९ वटा कास्य पदक जितेर दोस्रो भएको थियो। गाउँपालिकाको तर्फबाट पालिकाभित्र रहेका आधा दर्जन माध्यमिक विद्यालयबाट सहभागी भएर विभिन्न पदक जित्न सफल विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार शुक्रबार एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थी र व्यवस्थापन गर्ने टोलीका नेतृत्वलाई सम्मान गरिएको छ। प्रतियोगितामा स्वर्ण पदक जित्ने विद्यार्थीलाई जनही चार हजार रुपियाँ, रजत तीन हजार र कास्य पदक जित्नेलाई दुई हजार रुपियाँका दरले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको अध्यक्ष पोमुले बताउनुभयो।
यस्तै मेरिङ्देन गाउँपालिकाले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पालिकाका तर्फबाट सहभागी भई विभिन्न पदक जित्ने विद्यार्थीलाई सम्मान गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो।
अध्यक्ष हाङ्गामका अनुसार स्वर्ण पदक जित्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपियाँका दर नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ। मेरिङ्देन गाउँपालिका समान दुई–दुई स्वर्ण, रजत र कास्य पदकमा जित निकाल्दै चौथो भएको थियो। जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकाको साँघुमा गएको आइतबारदेखि बुधबारसम्म सञ्चालन भएको थियो।