• १ फागुन २०८१, बिहिबार

मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन स्थगित

blog

सङ्घको उद्घाटन सत्रमा सहभागी नेताहरू । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन १ गते ।
नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित भएको छ । नेपाली कांग्रेसको भातृसङ्गठन मुस्लिम सङ्घको बुधबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको थियो । नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका समेत प्रभावित भएपछि नेतृत्व चयनबिनै स्थगित गरिएको हो । निर्वाचन गराउन माग गर्दै प्रतिनिधिहरूले मध्यरातसम्म नाराबाजी गरेका थिए ।

लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन सत्रमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री देवेन्द्रराज कँडेल, अब्दुल रज्जाक, नैनसिंह महर, अमरसिंह पुन, अब्दुल सत्तार, रामकृष्ण खाँण, जाकिर हुसेन, संसुधिन मिया, सवर मिया लगायतको उपस्थिति रहेको थियो । महामन्त्री थापाले सङ्घमा सबैलाई मिलाएर नेतृत्व चयन गर्न सुझाव दिनुभएको थियो ।

प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि आफूहरूले मतदान गर्न पाउनुपर्ने पक्षमा रहे पनि नेतृत्वले निर्वाचन टार्न खोजेपछि अधिवेशन भाँडिएको आरोप लागेको छ । आफूले चाहेको व्यक्तिलाई अध्यक्षको टीका लगाउन नपाएपछि केन्द्रीय नेताहरूले अधिवेशन नै बिथोलेको प्रतिनिधिहरूको गुनासो छ । निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उहाँहरूको भनाइ छ ।

नेपाल मुस्लिम सङ्घको केन्द्रीय समिति र निर्वाचन समितिले गए राति ८ः३० बजे विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ । अधिवेशन अब कहिले हुन्छ भन्नेबारे केही बताइएको छैन । बुधबार साँझ सदस्यहरू निर्विरोध चयन भएका थिए । तर अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । अन्य पदमा पनि उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।

अध्यक्षमा बुटवलका जाकिर हुसेन, सबर मिया र नवलपरासीका कमिदिन मियाले उम्मेदवारी दर्ता गर्नुभएको थियो । आफूले चुनाव जित्ने निश्चित भएपछि अर्को पक्षले अनावश्यक बखेडा निकालेर अधिवेशन रोकेको मियाको आरोप छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम सङ्घका संस्थापक केन्द्रीय अध्यक्ष अब्दुल सत्तारले जाकिर हुसेनलाई अध्यक्ष बनाउन खोजेको तर निर्वाचनबाट त्यो नहुने भएपछि अधिवेशन नै स्थगित गराएको उहाँको दाबी छ । ‘‘अधिकांश प्रतिनिधि मेरो पक्षमा थिए, तर अब्बुल सत्तरले मलाई चाहनुभएको थिएन,’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचनको सबै प्रक्रिया पूरा भएर मत पत्र छापिएको थियो, तर आफूले भनेको नहुने भएपछि अन्तिम समयमा बल प्रयोग गरेर रोकाउनुभयो ।’’

अब्दुलको दबाबमा सङ्घका केन्द्रीय अध्यक्ष अताउल मन्सुरीले निर्वाचन समितिलाई पत्र लेखेर निर्वाचन प्रक्रिया रोकिएको उहाँको भनाइ छ । अध्यक्षका अर्का दाबेदार जाकिर हुसेन भने सबल पक्षले फर्जी मतदाता बनाएको सूचना बाहिर आएपछि केन्द्रीय समितिले अन्तिम समयमा पत्र लेखेर रोकेको बताउनुहुन्छ ।

‘‘अन्तै बसेर जिल्लाका प्रतिनिधिको सूची बनाइएको थियो, यसको सूचना केन्द्रले पाएपछि रोकिएको हो,’’ उहाँले भन्नुभयो, ‘‘रमजान चलेको छ, अब एक महिनापछि मात्रै हुने भयो ।’’