सिराज खान
नेपालगन्ज, फागुन १ गते । बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान पनि सुरु भएको छ । दोस्रो चरणमा जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले दोस्रो चरणमा चारवटा पालिकाका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका १२ हजार ३६१ जना बालिका र किशोरीलाई खोप लगाइने बताउनुभयो ।
यसअघि माघ २२ गते सुरु भएको पहिलो चरणको खोप अभियानअन्तर्गत बाँकेको नेपालगन्जसहित चार पालिकाका २२ हजारभन्दा बढी बालिका र किशोरीलाई खोप लगाई सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो चरणको खोप अभियान राप्तीसोनारी गाउँपालिकाको शिवशक्ति माध्यामिक विद्यालयबाट सुरु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
सो अभियानको सुभारम्भ प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाले गर्नुभयो । उहाँले धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरजस्तो रोगबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेकाले त्योबाट रोक्न अहिलेनै खोप लगाउन उपयुक्त भएको बताउनुभयो ।
क्यान्सर भयावह रोग भएपनि आवश्यक सावधानी र चेकजाँच गरे धेरै क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन सकिने पूर्वमन्त्री केसीको भनाइ थियो ।
अर्का प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीले पनि नेपाल सरकारको ठुलो लगानी रहेको यो अभियानलाई सफल बनाउन लक्षित समूहले खोप लगाउन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी, अर्का प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप उपयुक्त विकल्प भएको जनाउँदै लक्षित समूहका सबै बालिका र किशोरीलाई खोप लगाउन आग्रह गर्नुभयो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही र गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतले पहिलो चरण झै दोस्रो चरणको अभियानलाई पनि सफल पार्न सबैसँग अनुरोध गर्नुभयो ।
दुबै चरणमा गरेर जिल्लामा करिब ३७ हजार बालिका र किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।