ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ३० गते । किशोरीहरुलाई लक्षित गरेर एक हप्तासम्म सञ्चालन गरिएको एचपिभी खोप अभियान जिल्लामा सफल भएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिएको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप चार हजार सात सय ९४ जनाले लगाएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकामा ३९७, रघुगङ्गामा ५०२, धवलागिरिमा ६०७,मालिकामा ८०६, मङ्गलामा ५७२ र बेनी नगरपालिकामा १९१० जनाले एचपिभी खोप लगाएका छन् ।
"खोप अभियानमा छात्रा तथा किशोरीहरूको उत्साहजन सहभागिताले खोप अभियान सफल भयो," प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले भन्नुभयो, "खोप अभियानलाई सफल पार्न स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी,स्वास्थ्यकर्मी,विद्यालय शिक्षक र सर्वसाधरणहरूको सहयोगका कारण लक्षित समुहसम्म खोप अभियान पुर्याउन सफल भएका छौं ।"
जिल्लाभर चार हजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा धेरै प्रगति हासिल भएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एक सय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको थियो ।
एचपिभी खोप अभियान अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने ९२२ जना, कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने ३७९८ र विद्यालय बाहिरका ६४ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।