• १ फागुन २०८१, बिहिबार

सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

blog

सिन्धुपाल्चोक, माघ ३० गते । सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।

हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका लागि काठमाडौंबाट १० बीएएमएस तथा एक विशेषज्ञ चिकित्सक र एक जना फिजियोथेरापिस्ट जाने कार्यक्रम संयोजक डा. सुष्मा साउदले जानकारी दिनुभयो ।

शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोगहरु जस्तै हाडजोर्नी, नसा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीलगायत समस्याको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिने उहाँले बताउनुभयो । ‘‘जटिल किसिमका रोगका लागि अस्पताल तथा उपचार विधिबारे परामर्श प्रदान गरिनेछ ।’’, उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधीहरू निःशुल्क हुनेछन् ।’’

खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिने डा. साउदले बताउनुभयो । उहाँका अनुसार, एक दिने शिविरमा पाँच सय जनालाई सेवा दिने लक्ष्य राखिएको छ । शिविरबाट लाभान्वित हुन हेलम्बु गाउँपालिकाले प्रत्येक वडाका बासिन्दालाई सूचित गराइरहेको जनाएको छ ।