• १२ फागुन २०८१, सोमबार

गाउँबाट लोप हुँदै देशबन्ध्या गुरुवा

blog

दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित चखौराको थारु सांस्कृतिक संग्राहलयमा चार देश बन्ध्या गुरुबा सहित र उनीहरूको मुख्य गुरु धनपत थारुको सम्झनामा निर्माण गरिएको सालिक: तस्बिर: सन्तोष

दाङ, माघ ३० गते । ‘देशबन्ध्या गुरुवा’ भन्ने शब्द धेरैलाई अपरिचित लाग्न सक्छ । यो शब्द थारु समुदायमा प्रचलित शब्द हो । थारु गाउँको मात्र नभइए एउटा प्रगन्ना पूरै रेखदेख गर्ने, पूजापाठ सञ्चालन गर्ने तथा तान्त्रिक विद्या जान्ने व्यक्तिलाई त्यस बेला देश बन्ध्या गुरुवा भनिन्थ्यो । 

मटावाँ, बरघर भल मन्सा सङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार विगतमा थारु समुदायमा तत्कालीन प्रगन्नाको धार्मिक अनुष्ठान तथा विकास निर्माणको देखरेखको काम गर्ने जिम्मेवारी देशबन्ध्या गुरुवालाई दिइन्थ्यो ।

देशबन्ध्या गुरुवा शब्दलाई  थारु भाषामा ‘गुर्वाबा’ पनि भनिन्छ । थारु समुदायले देशबन्ध्या गुरुवाहरूलाई ठुलो तान्त्रिक मन्त्रका ज्ञाता मान्ने गर्दछन् । तर, अहिले यसलाई मान्ने र बनाउने परम्परा हराउँदै गएको छ । सङ्घका अध्यक्ष चौधरीका अनुसार यी गुरुबाहरू तान्त्रिक मन्त्रका ज्ञाता मानिन्छन् । प्राचीन किंवदन्ती अनुसार, धनपत नामक थारुका चार सन्तानलाई दाङ जिल्लाका विभिन्न भागमा देश बन्ध्या गुरुवाको जिम्मेवारी दिइएको थियो ।

त्यतिबेला दाङलाई चार प्रगन्नामा विभाजन गरिएको थियो, उहाँले भन्नुभयो, "अग्ला प्रगन्ना, पश्चकला प्रगन्ना, पाटु प्रगन्ना, र पछ्ला प्रगन्ना । अहिलेको निर्वाचन क्षेत्र विभाजन गरेको जस्तै त्यस बेला दाङलाई चार प्रगन्नामा विभाजन गरिएको थियो", उहाँले भन्नुभयो, "त्यसबेला थारु समुदायका चार थरका देशबन्ध्या गुरुवाले प्रगन्नाको जिम्मेवारी सम्हालेका थिए ।’ 

उहाँको अनुसार अग्ला प्रगन्ना: घोराहीदेखि देउखुरीसम्म जिन गुनी थरका व्यक्तिहरूले नेतृत्व गर्थे, जसले ’मद्वा’ देवतालाई मान्छन् । त्यस्तै पश्चकला प्रगन्ना तथा छिल्ली प्रगन्ना: दहित थरका व्यक्तिहरूले नेतृत्व गर्थे, जसले ‘भेर्वा’ देवतालाई मान्छन् । यस्तै पाटु प्रगन्ना तथा पछ्ला प्रगन्ना: पछलडङग्या थरका व्यक्तिहरूले ’जगनथ्या’ देवतालाई मान्छन् चौधरीले भन्नुभयो, "बाँकी ठाउँमा डेमनडौरा थरका थारुहरूले जिम्मेवारी सम्हाल्हालेका थिए ।"

‘देशबन्ध्या गुरुवाहरू गाउँमा शान्ति कायम गर्न, प्राकृतिक प्रकोप न्यूनीकरण गर्न तथा बीमार व्यक्तिलाई तान्त्रिक उपचार प्रदान गर्न प्रसिद्ध रहेको उहाँले भन्नुभयो, "त्यतिमात्र नभई त्यसबेला खेतीपातीमा रोग लाग्दा गुरुवाहरूको तान्त्रिक विधिबाट उपचार गरिन्थ्यो ।’ उनीहरूलाई प्राकृतिक शक्तिसँग संवाद गर्ने तथा देवतालाई प्रभाव पार्न सक्ने व्यक्तिका रूपमा हेरिन्थ्यो । वर्षा नभएको अवस्थामा गुरुवाहरूले विशेष अनुष्ठान गरी वर्षा गराउने विश्वास अहिले पनि रहँदैआएको उहाँले बताउनुभयो । 

तर, आधुनिकतासँगै देशबन्ध्या गुरुवाहरूको परम्परा हराउँदै गएको छ । गुरुवाहरू नहुँदा थारु समुदायमा परम्परागत पूजापाठमा तथा धर्म कर्ममा समेत समस्या देखिँदै आएको उहाँले बताउनुभयो । ‘पहिले गाउँमा रोगव्याधि हटाउन, शान्ति स्थापनाका लागि गुरुवाहरूको ठुलो भूमिका रहन्थ्यो, देशबन्ध्या गुरुवाको उहाँले भन्नुभयो, "अहिलेको पुस्ताले यस परम्परालाई निरन्तरता नदिँदा यो बिस्तारै देशबन्ध्या गुरुवा मात्र नभई थारु समुदायको मौलिक लोक संस्कृति नै लोप हुने स्थितिमा पुगेको छ ।’

‘देशबन्ध्या गुरुवाहरू केवल थारु समुदायका लागि मात्र नभई अन्य समुदायहरूका लागि पनि महत्त्वपूर्ण थिए, उहाँले भन्नुभयो, "यदि यो परम्परा जोगाइएन भने थारु समुदायको सांस्कृतिक सम्पदा हराउने खतरा बढ्नेछ ।’

Author

सन्तोष दहित