साहारा लिम्बू
ताप्लेजुङ, माघ २७ गते । श्री वसन्तपञ्चमी मेलाको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकले जितेका छन् । प्रतियोगिता श्री प्रगतिशील युवा क्लब मेरिङ्देन ४ लिङ्तेपको आयोजनामा सम्पन्न भएको हो ।
शनिबार भएको फाइनल खेलमा पुरुष फुटबलतर्फ फक्ताङलुङ गाउँपालिका दुई खेजेनिमले फुङ्लिङ नगरपालिका एकलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ । खेजेनिम सेमिफाइनमा खाम्लुङ स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
यस्तै, फुङलिङले नालिफुङवा क्लब थुकिमालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । महिलातर्फ आयोजक श्री प्रगतिशील युवा क्लबले साउदेन स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
आयोजक थिङ्लाबु स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै, साउदेन स्पोर्टिङ क्लबले सान्थाक्रा स्पोर्टिङ क्लबलाई २–० गोलले पछि पार्दै फाइनमा पुगेको थियो ।
पुरुषतर्फको प्रथम हुने खेजेनिमले नगद एक लाख १५ हजार रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने फुङ्लिङले ८० हजार रुपियाँ साथै ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
साथै महिलातर्फ प्रथम हुने आयोजकले नगद ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आर्थिक संयोजक जितेन लङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने साउदेन स्पोर्टिङ क्लबले नगद ३० हजार रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ ।
ऐतिहासिक रुपमा सञ्चलन हुँदैआएको श्री वसन्त पञ्चमी मेला वसन्त पञ्चमीको अवसरमा प्रत्येक वर्ष मेरिङ्देन गाउँपालिकाको लिङ्तेपमा सञ्चालन हुने गर्दछ । गत माघ २१ गतेबाट सुरु भएको खेलको उद्घाटन कोशी प्रदेश सरकारका पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गामले गर्नुभएको थियो भने समापन उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामको प्रमुख आतिथ्यमा भएको हो ।