विदुर आचार्य
चौतारा, माघ २६ गते । नेपाल बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकले नयाँ नेतृत्व प्राप्त गरेको छ । शनिबार सदरमुकाम चौतारामा आयोजित सातौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
परिषदको जिल्ला उपाध्यक्ष पदम पराजुली, सचिव केशव नेपाल, उपसचिव विन्दा पुरी, कोषाध्यक्ष शम्भूप्रसाद पोखरेल र सदस्यमा कुमार सापकोटा, श्यामकृष्ण नेपाल, हरिकुमार श्रेष्ठ, क्षेत्रबहादुर थापा, सूर्य पौडेल, माधव ढकाल, चेतनाथ पराजुली, रविन्द्र शर्मा, रामप्रसाद नेपाल, सुजता सापकोटा र भरत सिलवाल चयन भएका हुन् ।
परिषद्को अधिवेशन केन्द्रीय उपाध्यक्ष प्राध्यापक डा. विधान आचार्य र नेकपा (एमाले) का पोलिटब्युरो सदस्य अरुण नेपालले उद्घाटन गर्नुभयो । अधिवेशन उद्घाटन गर्दै नेता नेपालले पार्टीको विचार, नीति र सिद्धान्त निर्माणमा बुद्धिजीविको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।
‘अध्ययन अनुसन्धानको क्षेत्रमा तपाईंहरूको भूमिका प्रशंसनीय छ’ नेता नेपालले भन्नुभयो, ‘पार्टी नेताले बोलेका विषय किन अविश्वसनीय हुँदैगएका छन् ? सत्यतथ्य खोजी गरौं र एकताबद्ध पार्टी निर्माणमा सुझाव दिनुस् ।’ त्यस्तै, परिषद्का केन्द्रीय उपाध्यक्ष आचार्यले विज्ञता आर्जन गर्दै हस्तान्तरण हुनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिले घोषणापत्र एकतातिर कार्यक्रम अर्कैतिर गर्ने परिपाटीले अस्वीकृत हुँदै गएकाले सामाजिक र आर्थिक अवस्था सुधारका लागि विज्ञता हस्तान्तरण गर्नुपर्ने उहाँको धारणा छ ।
अधिवेशनमा परिषद्का प्रदेश अध्यक्ष प्राध्यापक डा. ईश्वर कोइराला, केन्द्रीय सदस्य सुलोचना सिजख्वा, शिवराम भट्टराई, नेकपा (एमाले) सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले शुभकामना व्यक्त गर्नुभयो ।