सन्तोष दहित
दाङ (दंगीशरण), माघ २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तरप्रदेश स्तरीय थारू सांस्कृतिक सम्मेलनको दाङ चखौरामा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताउनुभयो । ‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले थारू सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । समुदायमा सीप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री आचार्यले थारू समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निजामति सेवामा थारू समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उहाँले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गर्नुभयो । ‘निजामती सेवामा प्रवेश गर्ने अवसर प्रदेश सरकारले खुला गरेको छ । हामीले सहभागिताको सुनिश्चितता गरेका छौँ’ उहाँले भन्नुभयो, ‘यस विषयमा पनि यहाँहरूले ध्यान दिनुपर्नेछ ।’
स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले वर्तमान संसद्बाट विधेयक पारित गरेर भए पनि समस्या समाधान गर्न आग्रह गर्नुभयो । थारू समुदाय लगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दैआएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
प्रदेश सरकारले थारू समुदायलगायत अन्य समुदायले मनाउने माघ पर्वलाई सम्मानस्वरूप उत्सवका रूपमा मनाउँदै आएको उहाँले स्मरण गराउनुभयो । सम्वोधनका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले गत वर्ष समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकार आर्थिक भारमा परेको बताउँदै समस्या समाधान गर्न आग्रह गर्नुभयो । ‘संघीय सरकारले समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकारले समस्या भोगिरहेको छ । हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
लुम्बिनी प्रदेशको नवलपरासीदेखि बर्दियासम्म हुलाकी राजमार्ग पर्छ । यो सडकको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । यसलाई तीव्रता दिन यहाँहरूको साथ आवश्यक छ,’ उहाँले भन्नुभयो । त्यसैगरी, लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा सुविधा सम्पन्न हवाई सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तुलसीपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताउनुभयो ।