पर्वत, माघ २६ गते । ट्याक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्याक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ ।
उक्त सडकखण्डअन्तर्गत भुम्रे-अर्चलबोट-तमादी-डुम्रेभन्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो ।
मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ । डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो । चिसापानीदेखि हुवास-त्रिवेणी-वहाकी-रानीपानीसम्म यसअघि कालोपत्र भइसकेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । डुम्रे भन्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका छ वडाका साथै महाशिला र फलेवास नगरपालिकाका स्थानीयबासिन्दा लाभान्वित हुने छन् ।
सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडोर जोडिनुका साथै वैकिल्पक मार्गको रूपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष नारायण भूर्तेलले बताउनुभयो । वालिङ-हुवास सडकको लम्बाइ १६ किलोमिटर छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ ।
सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो । कुश्मा नगरपालिकाको पर्ने दोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट–शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर-पूर्णगाउँ-घुरुङ्गा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना-अर्चले-भँगरा सडकका लागि बजेट विनियोजन भएको हो । रासस