नयाँदिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हराउन प्रयासरत छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ ।
भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ ।
राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ । आप प्रमुख अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट २५४ मत अन्तरले अगाडि हुनुहुन्छ ।
ग्रेटर कैलाश सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा दिल्लीका मन्त्री सौरभ भारद्वाज भाजपाकी शिखा रोयभन्दा ४५९ मतले पछि हुनुहुन्छ । दिल्लीका मुख्यमन्त्री आतिशी कालकाजी सिटमा भाजपाका रमेश बिधुरीलाई एक हजार १४९ मतले पछि पार्दै हुनुहुन्छ ।
आम आदमी पार्टीका अमानतुल्लाह खानको गढ मानिने ओखला सिटमा पनि भाजपा दुई हजार २६० मतको अन्तरले अगाडि छ ।
दिल्लीका मन्त्री गोपाल राई बाबरपुर सिटबाट पाँच हजार ६०२ मतले अगाडि हुनुहुन्छ भने बल्लीमारन सिटबाट इमरान हुसैन एक हजार ८२४ मतले अगाडि छन् ।
कुर बस्ती सिटबाट सत्येन्द्र जैन भाजपाका कर्नैल सिंहसँग दुई हजार ९५६ मतले पछि हुनुहुन्छ । भर्खरै बिजेपीमा सामेल भएका पूर्व आप नेता कैलाश गहलोतले बिजवासन सीटमा दुई हजार २१७ को सहज अग्रता हासिल गर्नुभयो ।
दिल्लीसँगै उत्तर प्रदेशको मिल्कीपुर र तमिलनाडुको इरोड सिटको उपचुनावको मतगणना पनि भइरहेको छ । सत्तरी सदस्यीय विधानसभाका लागि फेब्रुअरी ५ गते भएको निर्वाचनमा कुल ६० दशमलव ५४ प्रतिशत मतदान भएको थियो ।
आम आदमी पार्टीले लगातार तेस्रो कार्यकालका लागि जीतने लक्ष्य राखेको छ, जबकि बिजेपीले राष्ट्रिय राजधानीमा दुई दशक भन्दा बढी पछि सत्तामा फर्कने प्रयास गरिरहेको छ ।
बुधबार सार्वजनिक भएका अधिकांश एक्जिट पोलमा भाजपालाई आपभन्दा अगाडि देखाएको थियो । यद्यपि, आप नेताहरूले एक्जिट पोलले ऐतिहासिक रूपमा पार्टीको प्रदर्शनलाई कम मूल्याङ्कन गरेको बताउनुभयो ।
केजरीवालले यदि भाजपा सत्तामा आयो भने निःशुल्क शिक्षा बन्द गर्ने दाबी गर्नुभयो । रासस/एएनआई