शैलेन्द्र रोकाया
बझाङ, माघ २६ गते । जिल्लाको पर्यटकिय क्षेत्रसँग जोडिएको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण गरिएको छ । २०७८ साल असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढी र पहिरोका कारण भवन र विद्यालयमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो ।
भौतिक संरचनाको अभाव भए पनि पठनपाठनमा समेत समस्या भएको उक्त विद्यलयमा विद्याथीहरूले असहज भएको थियो । अस्ट्रेलियन हिमालय फाउन्डेसनको आर्थिक सहयोगमा रिड नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय भवनमा निर्माण गरेको सो भवन जिल्लाकै नमुना भवन रहेको छ । अस्ट्रेलियन इन्जिनियर जोसुवा एन्जलबेथले गरेको डिजायनमा रिड नेपाल नामक गैरसरकारी संस्थाले प्राविधिक सहयोग गरेको रिड नेपालका परियोजनाका इन्जिनियर सत्यराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँले ८० लाख रुपियाँको लागतमा निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी, तापक्रमलाई सन्तुलन राख्ने खालको प्रविधि जडान गरिएको, बालमैत्री, अपाङ्गमैत्री समेत रहेको समेत बताउनुभयो । भवनभित्र सुविधा सम्पन्न फनिचर, लाइटिङसहितको व्यवस्था रहेको छ ।
“हाल बझाङ जिल्लामा निर्माण भएका भवनहरूको तुलनामा यो भवन निकै सुविधायुक्त भवन हो,’’ खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष रोकायाको समन्वयमा “समृद्घ खप्तडछान्ना परियोजना” लागु गरेपछि गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा नमुना काम हुँदै आएको स्थानीय भिम बहादुर रोकायाको भनाइ छ । दुई वर्ष यता रिड नेपालमार्फत अस्ट्रेलियन हिमालय फाउन्डेसनले खप्तडछान्नाको शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शिक्षकहरूलाई तालिम, बालबालिका तथा अभिभावकहरूलाई चेतनामुलक तालिम तथा शैक्षिक गुणस्तर सुधारका विभिन्न कार्यहरू गर्दै आएको छ भने स्वास्थ्य संस्थामा उपकरण सहयोग, कर्मचारी अभावको परिपूर्ति, भौतिक पूर्वाधार निर्माण लगायतका कामहरू गर्दै आएको छ ।