सिराज खान
नेपालगन्ज, माघ २६ गते । भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा स्वास्थ्य उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलीले मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाएको छ ।
भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने सम्झौता भएको एक सातामै २८ वटा स्वास्थ्य उपकरण मर्मत गरी पुनः प्रयोग गर्न सकिने बनाइदिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।
उहाँले आविष्कार केन्द्रबाट खटिएका इन्जिनियरहरू अविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साहले आइसियू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्डलगायतका बिग्रिएर थन्किएका उपकरणहरू मर्मत गरेको बताउनुभयो ।
भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रको टोलिले अस्पतालमा बिग्रिएर थन्किएका ५६ वटा उपकरणको अध्ययन गरेको थियो । तीमध्ये २८ वटा मर्मत गरेपनि बाँकी मेसिन मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रको माथिल्लो तहसँग समन्वय भइरहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो ।
१८ वटा मेसिन भने बिक्रेता कम्पनीसँगको परामर्शमा मर्मत गर्न सकिने निष्कर्ष राष्ट्रिय आविष्कार केन्द्रको इन्जिनियर टिमले निकालेको जनाइएको छ ।
भेरी अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका लाखौं मूल्यका मेसिनहरू केन्द्रबाट आउनु भएका प्राविधिकको टिमले अत्यन्तै छोटो समयमा मर्मत गर्नु भएको भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो ।
उहाँका अनुसार भेरी अस्पतालले करिब डेढ सय मेसिन मर्मतका लागि सिफारिस गरेको थियो, तर आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले ५६ वटा बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेकोमा एक सातामै २८ वटा मर्मत सम्भार गरेर काम लाग्ने बनाएको छ ।
यसअघि गत भदौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग देशभरका १७ वटा ठुला सङ्घीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतको सम्झौता गरेको थियो ।