• २६ माघ २०८१, शनिबार

विराटनगर जुट मिलको जग्गामा बन्दै छन् संरचना

blog

मोरङका प्रमुख जिल्ला अधिकारी जुट मिलपरिसरमा अतिव्रmमित जग्गा निरीक्षण गर्नुहुँदै ।तस्बिर : नवराज कट्टेल

रङ्गेली समाचारदाता

विराटनगर, माघ २६ गते । विराटनगर जुट मिलको जग्गा हडपेर संरचना बनाउने समूह पुनः सक्रिय भएको छ । विराटनगर–१६ स्थित जुट मिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रमा साना साना झुपडी बनाएर अतिक्रमण गरिएको हो । 

जग्गा हडप्ने समूह एकाएक सक्रिय भएपछि विराटनगर जुट मिल प्रशासनले स्थानीय प्रशासनसँग तत्काल रोकिदिन अनुरोध गर्दै पत्राचारसमेत गरेको छ । जुट मिलका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार जग्गा अतिक्रमण भएको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि जानकारी दिइएको छ । 

जुट मिल प्रशासन प्रमुख श्यामकुमार लामाले भरत तामाङ, चक्रबहादुर श्रेष्ठ र मोहमद मुख्तारको नाम किटेरै जिल्ला प्रशासन कार्यालय मोरङमा आवश्यक कारबाहीका लागि गत माघ १५ गते उजुरी दिनुभएको छ । त्यसपछि मोरङका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा संयन्त्रको टोलीले अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । 

जग्गा अतिव्रmमण भएको क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पनि गत सोमबार निरीक्षण गर्नुभएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१६ का वडाध्यक्ष उद्धव भुजेलसहितको टोलीले जुट मिलको जग्गा अतिव्रmमण गराउन लागेको आरोप छ तर वडाध्यक्ष भुजेलले जुट मिल व्यवस्थापन समितिले अहिलेसम्म कुनै पनि जग्गा संरक्षण गर्नुपर्ने विषयको जानकारी नदिएको जिकिर गर्दै आरोप झुटो भएको बताउनुभयो । उहाँले जग्गा अतिव्रmमण भएको विषयमा आफैँले स्थानीय प्रशासनलाई जानकारी गराइरहेको बताउनुभयो । वडाध्यक्ष भुजेलले हनुमान मन्दिरनजिक जुट मिलमा प्रवेश गर्ने बाटो छेकेर बनाएको संरचना भत्काउन महानगरपालिकाले तयारी गरिरहेको बताउनुभयो । 

जुट मिलका अध्यक्ष कार्कीका अनुसार सुरुमा सानो झुप्रो बनाउने अनि क्रमशः घेराबेरा गर्दै जग्गाको क्षेत्र बढाउने र स्थायी किसिमका संरचना बनाउन लगाउने समूह सव्रिmय रहेको छ । जुट मिलको दक्षिणतर्फ सुगर मिल जाने बाटो नेपाल–भारत दसगजा नजिक पर्छ । यहाँ भने मदिरा बिक्रि गर्ने भट्टी, तस्करी चलाउने र लागुऔषध कारोबार गर्नेले झुपडी बनाएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जुट मिल प्रशासनले दिएको उजुरीका आधारमा तीन वटा संरचना निर्माण तत्काल रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो । उहाँले जुट मिलको ६७ बिघा जग्गामध्ये ५० बिघा घेराबेरा रहेको र बाँकी पेरिफेरीको १७ बिघा जग्गा अतिक्रमण हुने क्रम पहिल्यैदेखि जारी रहेको बताउनुभयो । पहिले टहरा बनाउने, टहरामा बस्दाबस्दै इँटाको गारो लगाएर जस्ताले छाउने अनि त्यसमा लामो समय बसेपछि पुनः पक्की घर बनाउने जस्ता कार्य हुँदै आएको देखिन्छ, प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, “पुरानो हकमा तत्कालै केही निर्देशन भएको छैन तर नयाँ बनेका संरचना रोक्न निर्देशन दिइएको छ ।”