तुलसीपुर समाचारदाता
तुलसीपुर, माघ २६ गते । गाउँगाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको देखिन्छ । स्थानीय तह प्रविधिमैत्री हुन थालेको देखिन्छ ।
तुलसीपुर उपमहानगरपालिकाले हेलो तुलसीपुर स्मार्ट एप्स सञ्चालनमा ल्याएको छ । अब नागरिकले घरबाटै सेवा प्रवाहमा जोडिनका लागि आफ्ना गुनासा, समस्या सोही एप्समार्फत राख्न पाउने भएका छन् । स्मार्ट कर, ई सिफारिस, वडा, योजना, व्यापार, राजपत्र, पर्यटकीय स्थलबारे समेत जानकारी लिनेदिने सुविधा रहेको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले जानकारी दिनुभयो ।
डिजिटलमैत्री शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति बजेटमा एकीकृत सफ्टवेयर, एआई, केन्द्रीकृत सिस्टम र फाइल सर्भर व्यवस्थापन, कार्यसम्पादन विद्युतीय प्रणाली, डिजिटलाइज्ड अभिलेख व्यवस्थापन समावेश गरेको छ । ई सिफारिस कार्यान्वयनका लागि १० लाख र केन्द्रीकृत सिस्टमका लागि चार लाख बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले समेत नीति, बजेट कार्यक्रममा नागरिकलाई प्रविधिमैत्री सेवा प्रवाहका लागि समावेश गरेको छ ।
प्रविधिमा जोडिँदै नागरिक
तुलसीपुर उपमहानगरपालिका–६ का पवीन्द्र केसीले पहिले दुई/तीन दिन लागेको काम अहिले वडा कार्यालयमा आउँदा प्रविधिका कारण २० मिनेटमै सकिएको बताउनुभयो । पवीन्द्रले प्रविधिको उपयोग गर्न थालेपछि काम छिटो र सहज भएको बताउनुभयो । “अहिले त वडाको काम तत्कालै भइहाल्ने भएपछि पहिले जस्तै गरी समय दिन नपरेपछि धेरै सहज भयो । अब सबै सेवालाई यसै गरी डिजिटल बनाउनु पर्यो,” उहाँले भन्नुभयो । वडाले नक्सा पास, मूल्याङ्कनका साथै दर्तासमेत डिजिटल माध्यमबाटै गर्न सुरु गरेको तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।
लुम्बिनी प्रदेशका पालिकाले नागरिकलाई सहज, सरल सुविधाका लागि डिजिटलमैत्री सेवा सुरु गरेका छन् । शुद्धोधन गाउँपालिका–२ का वडाध्यक्ष कमलप्रसाद खड्का क्षेत्रीले डिजिटल सेवा सुरु गरेसँगै नागरिकले वडामै मालपोत, सिफारिसका सेवा घरबाटै प्राप्त गर्न थालेको बताउनुभयो ।
वडा नम्बर ४ का वडा सचिव हरिलाल उपाध्यायले युवा स्वदेशमै नभएकाले प्रविधिमैत्री सेवा प्रदान गर्नका लागि कठिनाइ उत्पन्न भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई डिजिटल सिफारिस, सम्पत्ति कर तिर्नका लागि समस्या हुने गरेको बताउनुभयो । वडा नम्बर ४ का ६४ वर्षीय रामप्रसाद चौधरीले पालिकाले डिजिटल सेवा सुरु गरेको छ तर प्राविधिक जानकारीका अभावमा आफूलाई समस्या भइरहेको बताउनुभयो ।