गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । अबदेखि नेपालमा सुर्तीजन्य पदार्थको हरेक बट्टामा शतप्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने भएको छ ।
यसअघि सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने कानुनी व्यवस्था थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ निर्देशिका लागु गरेसँगै अब सुर्ती, चुरोट, खैनीलगायतका सुर्तीजन्य पदार्थका प्याकेट, बट्टा तथा र्यापर्सको शतप्रतिशत भाग चेतावनीमूलक चित्र तथा सन्देशले ढाकिएको हुने छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका–२०८१’ जारी गर्नुभएको छ । उक्त निर्देशिका जारी भएको १८० दिनपछि पूर्ण कार्यान्वयनमा आउने छ । स्वास्थ्यमन्त्री पौडेलले नसर्ने रोगको प्रमुख कारकमध्येको सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताउनुभयो ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश राख्दा सुर्तीको सेवन गर्ने सङ्ख्या घट्ने बताउनुभयो । डा. पोखरेलले चुरोटको बट्टामा शतप्रतिशत चित्र राख्दा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले चुरोटको सबै भागमा चेतावनीमूलक सन्देश देखेपछि मानिसले चुरोट सेवन गर्नलाई एक पटक सोच्न बाध्य हुने बताउनुभयो । पछिल्लो समय क्यान्सर रोगका कारण धेरै मानिसको मृत्यु हुने गरेको जानकारी दिँदै उहाँले नेपालमा नसर्ने रोग क्यान्सरबाट बच्नका लागि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।