• २६ माघ २०८१, शनिबार

बिपी राजमार्ग मर्मतमा जापानको चासो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । जापानका सम्राटको ६५ औँ शुभजन्मोत्सव तथा जापानको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरूले शुक्रबार ताहाचलस्थित आफ्नो सरकारी निवासमा समारोह आयोजना गर्नुभयो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, राजदूतहरू, नेपालस्थित अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, सरकारी अधिकारीलगायतको उपस्थिति थियो । 

त्यस अवसरमा राजदूत माएदा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै अघिल्लो वर्षायाममा आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग मर्मतका लागि जापानले पहल गर्ने बताउनुभयो । उक्त सडक जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको थियो । 

उहाँले जापान र नेपालबिचको सम्बन्ध १९ औँ शताब्दीमा सुरु भएको ऐतिहासिक आदानप्रदान, सन् १९८७ मा जापानका सम्राटको नेपाल भ्रमणलगायत उच्चस्तरीय भ्रमण र आधा शताब्दीभन्दा बढी समयदेखि जापान र नेपालबिचको विकास सहयोगलाई उल्लेख गर्नुभयो ।