सन्तोष दहित
दाङ (लमही), माघ २३ गते । लमही नगरपालिका –८ का सीता चौधरी दुई वर्ष अघिसम्म घरभित्रकै काममा सीमित हुनुहुन्थ्यो । कुनै सङ्घ संस्थामा नभएकाले उहाँ घरको खेतिपाती स्याहार्ने र घरको काममा सीमित हुनुपरेकाले उहाँ बाहिरको काममा खासै ध्यान दिन सक्नुहुन्थेन ।
अहिले उहाँ घरको कामसँगै गाउँको विकासको कामदेखि सामाजिक काममा सक्रिय हुनुभएको छ । थारु समुदायको प्रथाजनित संस्था मटावाँ (बरघर) प्रथाको नेतृत्वको लागि गत वर्षको माघमा गाउँमा भएको भेलामा सहभागी हुनुभयो । गाउँको नेतृत्वका लागि मटावाँ चयन चलिरहेको थियो । भेलामा पुरुषभन्दा धेरै महिला थिए ।
भेलामा बरघरको दावी पुरुषले गरेको देखेपछि उहाँलाई चित्त बुझेन । त्यसपछि सीता चौधरीले आफू पनि मटावाँका लागि सक्षम रहेको भन्दै हात उठाउनुभयो । यद्यपि भेलामा उहाँलाई कसैले समर्थन गरेनन् । उहाँ पछाडि हट्नुभएन ।
छलफलमा सहमति नबनेपछि गाउँलेले मतदान नगरेर चिट्ठाबाट मटावाँ चुन्ने निर्णय गरे । आफू गत वर्ष चिट्ठाबाट मटावाँ चुनिएको उहाँको भनाइ छ । मटावाँ चुनिएपछि आफूमाथि ठुलो जिम्मेवारी भएको महसुस गरेको उहाँले सुनाउनुभयो । ‘पहिला यो महिलाले के गर्न सक्ला र ?, भन्थे । उहाँले भन्नुभयो, “धेरै सुझबुझका साथ आफूले पाएको जिम्मेवारीलाई अगाडि बढाउँदै लगें । अग्रजहरुसँग सल्लाह लिँदै सुरुवाटमा हाम्रो लोप भइरहेको मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनका लागि अभियान चलाएँ ।’
गाउँमा आइपर्ने हरेक समस्यालाई समाधान गर्न मैले सधै अग्रभागमा रहेर खटें, उहाँले भन्नुभयो, “गाउँको कुलापानी, सिँचाइदेखि बाटाघाटा निर्माणमा पनि चासोको साथ लाग्न थालेपछि गाउँलेले विस्तारै मलाई साथ दिन थाले । अहिले गाउँलेले मात्र होइन्, मेरो कुरा काटनेले मलाई साथ दिइरहेका छन् ।”
‘सायद यसैको परिणामले होला यो वर्ष फेरि म मटावाँमा चुनिएकी छु, उहाँले भन्नुभयो, “गत वर्ष मलाई मटावाँ दिन मान्नु भएको थिएन, तर चिठ्ठा हाल्दा म मटावाँमा छानिएँ ।” गाउँलेले मलार्ई फेरि मटावाँ बन्न आग्रह गरेपछि म पनि मटावाँ बन्न राजी भएँ, उहाँेले भन्नुभयो । अब थप नयाँ योजनासहित गत बर्षमा गर्न नसकेको कामलाई सम्पन्न गर्नमा ध्यान दिने उहाँको भनाइ छ ।
उहाँले विकास निर्माणको कामसँगै आफूहरुको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा जोड दिएको बताउनुभयो । मटावाँ (बरघर), भलमन्सा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार दाङमा पाँच सयभन्दा बढी माटाँवा छन् । तर, महिला भने अहिलेसम्म एक जनामात्र भएको उहाँले जानकारी दिनुभयो । उहाँको अनुसार दाङमा सबैभन्दा धेरै मटावाँ घोराहीमा छन् ।
घोराही उपमहानगरमा दुईसय, तुलसीपुरमा एकसय ५०, दंगीशरण, लमही, शान्तिनगर, गढवा, राप्ती र राजपुर गाउँपालिकामा मटावाँ रहेको महासंघका अध्यक्ष चौधरीले बताउनुभयो । परम्परागतदेखि मटावाँको नेतृत्व पुरुषले मात्र गर्दैआएकाले महिलाले मटावाँको नेतृत्वमा नआएको उहाँले बताउनुभयो । ‘यद्यपि अन्य सङ्घ संस्थाको अगुवाइमा भने थारु महिला नेतृत्व गर्दैआएको भए पनि मटावाँमा आउनुभएको छैन, उहाँले भन्नुयभयो, “यो विषयमा थारु समुदायका अगुवाहरुले गम्भीरतासाथ सोच्न जरुरी छ । मटावाँको नेतृत्व महिलालाई दिनुपर्छ, भन्ने मेरो मान्याता हो ।’
मटावाँ (बरघर), भल्मन्सा, ककन्डर्वा प्रथा थारु समुदायको प्रथाजनित संस्थाको रुपमा छ । विशेषगरी दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेत र कपिलवस्तुमा यो प्रथा मान्ने चलन कायम छ । गाउँको विकासदेखि सामाजिक न्यायलगायत कामको नेतृत्व गर्दैआएका व्यक्तिलाई थारु समुदायले मटावाँ, बरघर, भल्मन्सा, ककन्डर्वा भन्ने गर्छन् ।
कतै मटावाँ, कतै बरघर त कतै भलभन्सा, ककन्डर्वा नाम दिइने गरेको छ । यद्यपि, दाङमा मटावाँ भनिने गरिएको विज्ञको भनाइ छ । थारु समुादयले हरेक वर्ष माघ (माघी) मा मटावाँ, बरघर, भल्मन्सा, ककन्डर्वा चुन्ने गर्छ ।