लीलाधर वली
घोराही, माघ २३ गते । दाङको घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ हुने भएको छ । अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा फागुन २ र ३ गते दुई दिन घोराहीमा ‘चौथो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुन थालेको हो ।
आयोजक अल्फा तेक्वान्दो डोजाङले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लास्तरीय च्याम्पियनसिपको बारेमा जानकारी गराएका छ । खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता पहिचानका लागि जिल्लास्तरीय च्याम्पियनसिपको आयोजना गरिएको अल्फा तेक्वान्दो डोजाङकी प्रमुख प्रशिक्षक सुनिता विष्टले जानकारी दिनुभएको छ ।
डोजाङ प्रमुख बिष्टका अनुसार च्याम्पियनसिपमा महिला र पुरुष खेलाडीले २१ केजी तौल समूहदेखि ६० केजीसम्म तौल समूहमा प्रतिष्पर्धा गर्ने छन् । जसअन्तर्गत पुरुष र महिला खेलाडीले २१–२३ केजी, २४–२७ केजी, २८–३२ केजी, ३३–३६ केजी, ३७–३९ केजी, ४०–४३ केजी, ४४–४७ केजी, ४८–५१ केजी, ५२–५५ केजी, ५६–५९ र ६० प्लस केजी तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी पुम्से पुरुष र महिलातर्फ एकल १० बर्ष मुनिका खेलाडीले प्रतिष्पर्धा गर्ने अल्फा तेक्वान्दो डोजाङका सिनियर खेलाडी दामु शर्माले जानकारी दिनुभएको छ ।
शर्माका अनुसार च्याम्पियनसिपमा ग्रुप पुम्से र पियर पुम्सेतर्फ १० बर्षमुनि, १४ बर्षमुनि र १८ बर्षमुनि मुनिमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा एउटा डोजाङबाट एउटै तौल समूहमा तीन जना मात्र खेलाडी सहभागी बन्न पाउने व्यवस्था गरिएको छ ।
च्याम्पियनसिपमा प्रथम हुने डोजाङले नगद ३० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफि जित्नेछ भने उपबिजेताले नगद १५ हजारसहित प्रमाणपत्र,मेडल र ट्रफि प्राप्त गर्ने आयोजक अल्फा तेक्वान्दो डोजाङले जानकारी दिएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने आयोजक अल्फा तेक्वान्दो डोजाङ प्रमुख प्रशिक्षक विष्टले बताइन । च्याम्पियनसिपमा जिल्लाका २० वढी डोजाङबाट तीन सय ५० बढी खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।