टीकापुर समाचारदाता
टीकापुर, माघ २३ गते । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले खोज पत्रकारिताले महत्वपूर्ण विषयको खोजी गर्ने भए पनि व्यक्तिगत कुरा उचालेर सामाजिक, पारिवारिक, राजनीतिक जीवन समाप्त पार्ने काम भइरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसका अवसरमा बोल्नुहुँदै पार्टीका विचारलाई जनसमक्ष पुर्याउन र कमजोरीलाई समालोचनात्मक रूपले प्रकाश पारिदिन पत्रकारलाई आग्रह गर्नुभएको छ । भट्टले पेसालाई जोगाएर सरकार र पार्टीका राम्रा काम जनसमक्ष पुर्याउने र समाजको अवस्था सरकार र पार्टी नेतृत्वसमक्ष पुर्याउन पत्रकारलाई अनुरोध गर्नुभयो ।
एमाले पोलिटब्युरो सदस्य नारदमुनि रानाले सत्यमा आधारित समाचार दिन पछि पर्न नहुने बताउनुभयो । अर्का पोलिटब्युरो सदस्य लीला भट्टराईले सूचना प्रविधिको दुरुपयोग गरेर रातारात भाइरल हुने र हल्लाको विषयलाई मिडियाले चिर्न सक्नुपर्ने बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य गौरीशङ्कर चौधरीले पार्टी र प्रेसको सम्बन्ध नजिक हुनुपर्ने र सहकार्य हुनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाले सरकार र प्रदेश सभाका कामबारे निगरानी गर्न र व्यक्तिगत कुरामा नलाग्न आग्रह गर्नुभयो ।
तीन जना सम्मानित
प्रेस चौतारी नेपाल कैलालीले नेपाल पत्रकार सङ्घ कैलालीका संस्थापक कार्यसमितिका सचिव हरिलाल गिरी, सहसचिव लोकराज भट्ट र सदस्य धर्मराज पाठकलाई सम्मान गरेको छ । स्थापना दिवसमा २०५० सालदेखि कैलालीमा रहेर पत्रकारिता गरेर योगदान गरेको भन्दै तीन जनालाई सम्मान गरिएको हो ।
एमाले प्रदेश प्रचार उपसंयोजक मातृका तिमिल्सेनाले प्रेस चौतारीमा रहेका पत्रकारले पनि व्यावसायिकता छोड्न नहुने बताउनुभयो । ट्रेड युनियनकर्मी जितबहादुर मल्लले सामाजिक सुरक्षामा मजदुरको पहुँच बढाउन र प्रचार गर्न प्रेसले भूमिका खेल्नुपर्ने अपेक्षा गरेको बताउनुभयो ।