गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ । राहदानी विभागले वर्तमान सम्झौताबमोजिम आपूर्ति हुने राहदानी पुस्तिकाको मौज्दात सकिनुअगावै राहदानी आपूर्ति गर्ने लक्ष्यका साथ खरिद प्रक्रिया अघि बढेको जनाएको छ ।
मङ्गलबार पत्रकारसँगको अन्तर्क्रियामा विभागका महानिर्देशक तीर्थराज अर्यालले विभागले दक्षिण एसियाकै पहिलो मुलुकका रूपमा विद्युतीय राहदानी सेवा प्रदान गर्न सुरु गरेको अवगत गराउँदै नेपालको राहदानीको गुणस्तर उच्च रहेको बताउनुभयो । नेपाली नागरिकलाई निरन्तर रूपले छिटोछरितो र सहजताका साथ राहदानी सेवा प्रदान गर्न विकसित प्रविधिलाई प्रयोग गरी आगामी दिनमा सेवा प्रवाहलाई अझ सहज र सेवाग्राही मैत्री बनाउने गरी तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो । नेपाली राहदानीवाहकलाई विदेश यात्राका क्रममा सहजता प्रदान गर्न विभाग गम्भीर रहेको र विद्युतीय राहदानीको राम्रो प्रतिक्रिया आइरहेको समेत उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले पुरानो सम्झौताको समय घर्किंदै जाँदा राहदानी सेवाको समग्र सेवालाई दुई प्याकेजमा पूरा गर्ने गरी नयाँ बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो । जस अनुसार प्याकेज १ मा आवेदन प्रणाली, तथ्याङ्क व्यवस्थापन तथा प्रशोधन र राहदानी वितरणका विषय समावेश छन् । त्यसै गरी प्याकेज २ मा विद्युतीय राहदानीको खाली पुस्तिका र सोको वैयक्तीकरण गरी खरिद गर्ने विषयसँग सम्बन्धित रहेको छ । दुबै प्याकेजका लागि २०८१ मङ्सिर १३ मा अन्तर्राष्ट्रिय बोलपत्रको सूचना प्रकाशन गरेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
एक वर्षलाई पुग्ने राहदानी छ
विभागले अब एक वर्षलाई पुग्ने अनुमानित विद्युतीय राहदानी पुस्तिका मौज्दात रहेको प्रस्ट पारेको छ । महानिर्देशक अर्यालले दिनुभएको जानकारी अनुसार विभागसँग १० लाख २१ हजार सात सय थान राहदानी पुस्तिका छ ।