• २० चैत २०८१, बुधबार

क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु

blog

उट्घाटन खेलमा प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी र एपीएफ क्लव । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), माघ २२ गते ।
रामपुरमा विभागिय टिमसहितको सहभागितामा क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कपअन्तर्गत प्रतियोगिता सुरु भएको हो ।

सोमबार प्रतियोगिताको उट्घाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्योग, व्यवसायको प्रवर्द्धनसँगै महोत्सवमा खेलकुदको उत्थानका लागि आयोजना गरिएको प्रतियोगिता आफैँमा प्रशंसनिय रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले अनुशासन, स्वास्थ्य र मनोरञ्जनका लागि खेलकुदले महत्त्वपूर्ण सन्देश दिने बताउनुभयो । साथै कार्यक्रममा रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठक, रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन र नगर खेलकुद विकास समितिका पूर्वअध्यक्ष शंकरबहादुर खाँणले रामपुर उपत्यकाको पहिचानलाई स्थापित गर्नका लागि प्रतियोगिताले थप टेवा दिने बताउनु भएको थियो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राष्ट्रिय खेल भलिबल खेलको प्रवर्द्धन, नयाँ प्रतिभालाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यका साथ मेलाको अवसरमा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लवसँगै मणिमुकुन्द भलिबल क्लव, रामपुर भलिबल क्लव र निस्दी भलिबल क्लवको सहभागीता रहेको भलिबल प्रतियोगिताको संयोजक कमल रानाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेतामध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख २२ हजार २२२ रुपियाँ, एक लाख ५५ हजार ५५५ रुपियाँ, एक लाख एक हजार १११ रुपियाँ र ५५ हजार ५५५ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव खिमबहादुर केसी पुरुषोत्तमले बताउनुभयो ।

आगामी माघ २६ सम्म हुने प्रतियोगिताको उट्घाटन खेल त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लवबिच भएको थियो । पहिलो सेट त्रिभुवन आर्मी क्लवले २५–२२ अङ्कसहित हात पारेको थियो । तर समय अभावका कारण सोमबारको खेल स्थगित भएको छ ।

प्रतियोगितामा मङ्गलबार त्रिभुवन आर्मी क्लव र मणिमुकुन्द भलिबल क्लव, नेपाल पुलिस क्लव र निस्दी भलिबल क्लवबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा भएको हो ।