काठमाडौँ, माघ २१ गत । पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् ।
नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरूलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा सोमबार काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।
विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेहरूलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो ।
स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ, काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो ।
उहाँले प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै युट्युवसहित सामाजिक सञ्जाल प्रयोग हुने सबै सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्त्वपूर्ण हुन्छ । अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै आएको छ । अभिमुखीकरण कक्षा यसैको एउटा श्रृङ्खला हो,’’ कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो ।
कार्यक्रममा अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो ।
पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने विभिन्न कामको प्रकाश पार्नुभएको थियो । भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरूमा केन्द्रित रहेर अन्तक्रिया गर्नुभएको थियो ।
२०७८ चैतदेखि नियमित रूपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिनुभयो । अनलाइन सञ्चारमाध्यम सञ्चालन हुनु अघि सञ्चालक र सम्पादकलाई अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ ।
पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई पनि काउन्सिलले यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।