• २१ माघ २०८१, सोमबार

अलपत्र पर्‍यो सांस्कृतिक थारू सङ्ग्रहालय

blog

थारू सङ्ग्रहालयमा राखिएका थारू चित्रकला । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ (घोराही), माघ २१ गते । दाङको सदरमुकाम घोराही बजारदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पनौरा गाउँ पर्छ, जहाँ थारू सांस्कृति सङ्ग्रहालय छ । तर त्यसको उचित संरक्षण हुन नसक्दा अलपत्र परेको छ ।

थारू समुदायको संस्कृति र पहिचान झल्काउने उद्देश्यले घोराही उपमहानगरपालिका –१७, स्थित पनौरा गाउँमा २०६६ मा थारू सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएकोथियो । त्यसबेला सङ्ग्रहालय बनेपछि छिमेकी जिल्लादेखि जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक समेत सङ्ग्रहालय अवलोकनका लागि पनौरा गाउँ पुग्ने गर्थे ।  

“सङ्ग्रहालय हेर्न आन्तरिक तथा बाहय पर्यटकले टिकट काटेर हेर्न आउनुहुन्थ्यो” स्थानीय तेजमान चौधरीले भन्नुभयो, “हामी एकदम खुसी भएका थियौं, सङ्ग्रहालयको प्रचार–प्रसारसँगै गाउँघरमा व्यापार व्यवसाय पनि बढ्न थालेको थियो, त्यो खुसी धेरै समय टिकेन ।”

सङ्ग्रहालय सुचारु भएको चार–पाँच वर्ष नपुग्दै बन्द भयो, उहाँले भन्नुभयो, “सङ्ग्रहालय बन्द भएपछि हामीले पुनः सुचारुका लागि धेरै पहल गर्यौंं, तर सकेनौं ।” आर्थिक अभावका कारण सङ्ग्रहालय नियमित सञ्चालनमा ल्याउन नसकेको उहाँले बताउनुभयो । 

तत्कालीन घोराही नगरपालिकाको संरक्षणमा र थारू कल्याणकारिणी सभा दाङको अगुवाइमा सङ्ग्रहालय सञ्चालन गर्ने भनिएको थियो, उहाँले भन्नुभयो, “पछि नगरपालिकाले सहयोग नगरेपछि सङ्ग्रहालय अलपत्र परेको हो ।” उहाँका अनुसार थारू कल्याणकारिणी सभा दाङका तत्कालीन अध्यक्ष फूलमान चौधरी, अग्रज अशोक चौधरीलगायतको अगुवाइमा सङ्ग्रहालय स्थापना भएको थियो । फूलमान अध्यक्षको कार्यकाल सकिएपछि उमेरको कारणले उहाँ निष्क्रिय हुनुभयो, भने अशोक बाजेको निधन भयो तेजमानले भन्नुभयो, “त्यसपछि आर्थिक अभाव हुँदै जाँदा अहिले सङ्ग्रहालय बन्द भयो । 

“छ–सात वर्षदेखि सङ्ग्रहालय खुलेको पनि छैन” उहाँले भन्नुभयो, “कहिलेकाही स्थानीय विद्यालयले आफ्ना विद्यार्थीलाई देखाउन ल्याउनुहुन्छ, तर हेर्न लायक छैन, सङ्ग्रहालयभित्र रहेका सामग्रीमा लगभग ढुसी लागेर कुहिन थालेका छन् ।”


उहाँको अनुसार सङ्ग्रहालयमा थारू समुदायको पहिचान झल्किने विभिन्न सामग्री राखिएका छन् । त्यसबेला थारू समुदायले प्रयोग गर्दै आएका माटाका भाडाँकुँडा, मौलिक भेषभुषा, गरगहना, खेतीपातीमा प्रयोग गरिने छत्री, खेतीपातीको समयमा प्रयोग हुने हलो, जुवा, कोदाली, धान राखिने माटाको डेहरी, कुठ्ली, भोक्टी, तरकारी चलाउने काठको डाडु, कर्छुललगायत सङ्ग्रहित सामग्री राखिएका छन् ।

त्यस्तै, खटिया, खटौली, विभिन्न किसिमका बस्ने बेर्री, लुगा राख्न प्रयोग गरिने भौंका, ढकिया, ढक्या, अठ्री, ढच्या, गोन्द्री, पटकीलगायत सामग्री पनि सङ्ग्रहालयमा राखिएका छन् । 

यस्तै, दाङदेखि बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत) मा बसाइँसराइ हुने बेलाको झल्को दिने काठका मूर्ति बनाएर पनि राखिएका छन् । सङ्ग्रहालय संरक्षणको नेतृत्व लिएका थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोककुमार चौधरी आर्थिक अभावले सङ्ग्रहालय सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

आर्थिक अभावकै कारण सङ्ग्रहालयको भवन जीर्ण अवस्थामा थियो, उहाँले भन्नुभयो, “गत वर्ष घोराही उपमहानगरपालिकाले ५ लाख आर्थिक सहयोग गरेपछि घरका टिन, घरलाई रङरोगन गरेर घरको संरक्षण भए पनि भित्र रहेका सङ्गृहित सामग्री भने कुहिएर काम नलाग्ने भएको छ । 

“घरमा पानी चुहिएर सङ्ग्रहालयका लागि राखिएका सामग्री कुहिएर, ढुसी लागेर काम नलाग्ने भएको छ, बचेको केही सामग्रीलाई सुरक्षित राखेका छौंं, उहाँले भन्नुभयो,  “यसलाई व्यस्थित गरेर पुनः सुचारु गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिरहेंका छौं, सरकारले सहयोग गरेमा छिट्टै सञ्चालनमा आउनेछ ।”    

सङ्ग्रहालयलाई व्यवस्थित बनाउन कम्तिमा एक करोड बजेट आवश्यक रहेको सभाका अध्यक्ष चौधरीले बताउनुभयो । यसका लागि प्रदेश सरकार या सङ्घीय सरकारले सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले सहयोग गर्यौं  भने हामीले समयमा सङ्ग्रहालय सञ्चालनमा ल्याउँछौं ।” 

उहाँको अनुसार स्थानीय सरकारसँग पछि सङ्ग्रहालय सञ्चालनका लागि छलफल भइरहेको छ । “अहिले रहेको सङ्ग्रहालयको क्षेत्रफल साघुँरो छ, उहाँले भन्नुभयो, “पहिलेको ठाउँबाट घोराही –१७, गुलरिया पार्कमा रहेको नयाँ भवनमा सार्ने छलफल भइरहेका छ, स्थानीय सरकारले स्विकृति दियो भने सङ्ग्रहालय छिट्टै सुचारु हुन्छ ।”


यसैबिच घोराही उपमहानगरपालिका –१७, का वडाध्यक्ष रामलौटन चौधरीले थारू सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउन आफूहरू गम्भीरतासाथ लागिरहेको बताउनुभयो । “म वडाध्यक्षमा निर्वाचित भएर आएपछि हाम्रोे वडामा स्थापना भएको तर बन्द भएको थारू सङ्ग्रहालयलाई पुनः सञ्चालनमा ल्याउन पहलकदमी गरिरहेको छु”, उहाँले भन्नुभयो,—“गत वर्ष पालिकाबाट पाँच लाख बजेट विनियोजन गरेर जीर्ण भवनलाई मर्मतसम्भार गरेका थियौं, अहिले त्यस सङ्ग्रहालयलाई व्यवस्थित गरेर पुनः सञ्चालनका लागि तयारीमा जुटेका छौं ।” 

स्थानीय कला, संस्कृति स्थानीय सरकारका सम्पत्ति हुन्, उहाँले भन्नुभयो, “त्यसको निमित्त यहाँको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि स्थानीय सरकार लागि रहेको छ, तसर्थ बन्द भएको सङ्ग्रहालय सञ्चालनमा ल्याउन थारू कल्याणकारिणी सभा र प्रदेश सरकारसँग छलफल गरिहेकाछौं ।”