• २१ माघ २०८१, सोमबार

अर्जुन ट्रफी : डडेल्धुराको लगातार दोस्रो जित

blog

रन बनाउँदै डडेल्धुराका खेलाडी ।

अविनाश चौधरी

धनगढी, माघ २१ गते । क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आज भएको खेलमा बोष्टन क्रिकेट झापालाई डडेल्धुराले ७७ रनले पराजित गरेको हो । 

जितसँगै डडेल्धुरा चार अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ । फाप्ला क्रिकेट मैदानमा टस ब्याटिङ गरेको डडेल्धुराले निर्धारित १५ ओभरमा तीन विकेट गुमाएर १४३ रन जोडेको थियो । डडेल्धुराको लागि प्रारम्भिक ब्याट्सम्यान आयुष्मान बम र कप्तान सन्दीप जोराले अर्धशतक पूरा गर्नुभयो । बमले अविजित ५७ रन बनाउनुभयो । 

त्यस्तै, कप्तान जोराले कप्तानी पारी खेल्दै ५१ रन बनाउनुभयो । बोष्टनका लागि अरुण ऐरीले दुई विकेट लिनुभयो । १४४ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको बोष्टनले निर्धारित पूरै ओभर खेल्दै नौ विकेटको पतनमा ६६ रनमात्रै बनाउन सक्यो । बोष्टनका सनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुभयो । 

डडेल्धुराको जितमा कुशल भुर्तेलले चार र अजय चौधरीले दुई विकेट लिनुभयो । खेलमा आयुष्मान बम प्लेयर अफ द म्याच घोषित भ १० हजार रुपियाँ पुरस्कारको हकदार बन्नुभयो ।