रमेश पौडेल
पोखरा, माघ २१ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सभापति देउवाले वर्तमान संविधानमा राखिएको सङ्घीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकारलाई समेटेको बताउनुभयो । उहाँले सबै जातजाति, भाषाभाषी मिलेर बसेको समाजलाई एकताबद्ध गराई लैजान वर्तमान संविधान सफल भएको भन्दै हाम्रो संविधानलाई अन्य मुलुकका देशहरुले पनि अनुकरण गर्न थालेको बताउनुभयो ।
सभापति देउवाले संविधानको प्रयोगमा आएका केही कठिनाइहरुलाई राजनीतिक दलहरुको सहमतिमा संशोधन गरी संविधानलाई संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले सङ्घीयताका बारेमा बोल्नुहुँदै प्रदेशलाई थप अधिकार प्रदान गरी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं केन्द्रित विकासले देशको सर्वाङ्गीण विकास नहुने भएकाले पनि कांग्रेसले सुरुवातदेखि नै सङ्घीयताका पक्षमा बोल्दै आएको स्पष्ट पार्नुभयो ।
सभापति देउवाले वर्तमान संविधानले कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकारको विकल्प नभएको बताउनुभयो । यसर्थ पनि संविधान संशोधन आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसका बारेमा बोल्दै नेता देउवाले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील कोइरालाजस्ता नेताहरुले हाम्रो काँधमा सुम्पिएको जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । उहाँले जनताका सेवकका रुपमा नेताहरुले काम गर्न निर्देशन दिँदै आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन । यसका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरौँ ।”
सङ्घीयता हाम्रो एजेन्डा हो : उपसभापति खड्का
त्यसैगरी, पार्टीका उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले समावेशी र सङ्घीयताका लागि नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६० सालमा नै निर्णय गरिसकेकाले कुनै अन्य पार्टीले सङ्घीयता हाम्रो एजेन्डा भनी दाबी नगर्दा हुने बताउनुभयो ।
उहाँले पार्टी प्रशिक्षणका बारेमा बोल्दै प्रशिक्षणमा आशा, भरोसा र सकारात्मक सन्देश प्रवाह हुनुपर्नेमा जोड दिँदै नकारात्मक टिप्पणीले पार्टी सुदृढ नहुने बताउनुभयो । हाम्रा कमिकमजोरी हामी आफैबाट निराकरण गरी समर्पणको भाव, सरलपन र राष्ट्रियताको भावलाई कार्यकर्ताका माझ पुर्याउन अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
२०४८ सालपछि कांग्रेसले लिएको खुल्ला अर्थ नीतिका कारण मुलुक अहिलेसम्म विकासको गतिमा अगाडि बढेको कुरा जनतासमक्ष पुर्याउन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । युवाहरुले अहिले प्रविधिमैत्री वातावरण खोज गरेकाले पार्टीले पनि सोही अनुसार युवा लक्षित कार्यक्रमलाई प्राथमिकता राखेको भन्दै उहाँले सामाजिक सञ्जालको सही सदुपयोग गरी अगाडि बढ्न युवाहरुलाई आग्रह गर्नुभयो । प्रशिक्षण विभाग प्रमुख खड्काले पार्टीको प्रशिक्षणलाई केन्द्र, प्रदेश, जिल्ला र पालिका गरी चार तहमा विभाजन गरी कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थालिएको बताउनुभयो ।
नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले प्रशिक्षणले कांग्रेसले गुमाउँदै गएको विरासतलाई स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखराबाट २०६१ फागुन सात गते कांग्रेसकै नेतृत्वमा भएको जनआन्दोलन र स्थापित प्रजातन्त्रका बारेमा पार्टीको दस्तावेजमा लेखिनुपर्ने बताउनुभयो । उहाँले सो आन्दोलन धर्मनिरपेक्षताका लागि नभई धर्मस्वतन्त्रताका लागि थियो भन्ने कुरा पार्टीले बिर्सन नहुने बताउनुभयो । नेता शुक्रराजले जनतालाई मालिक बनाए मात्र कांग्रेस बलियो हुने उल्ले गर्दै आफूहरु जनताको सेवक बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका सातै प्रदेशका सभापतिहरु, प्रशिक्षण विभाग प्रमुखहरु सहभागी रहेको सो कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।