सीता काफ्ले
रुपन्देही, २१ माघ गते । रूपन्देहीको तिनाउ नदीबाट नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्दै चोरी निकासी बढेको छ । तिनाउ नदी अन्तर्गतका विभिन्न नाका तथा घाटबाट नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्दै चोरी निकासी बढेको हो ।
स्थानीय सरकारको राजश्व सङ्कलनको प्रमुख श्रोतको रूपमा रहेको नदीजन्य पदार्थको चोरी निकासीका लागि स्थानीय गिरोह नै सक्रिय रहेको पाइएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी नियन्त्रणका लागि स्थानीय सरकार र प्रहरी प्रशासनले चासो बढाएको बताए पनि चोरी निकासी रोकिएको छैन ।
रूपन्देहीको सियारी गाउँपालिका ३ र ७ मा पर्ने कनरी र भर्तापुर नाकाबाट व्यापक रूपमा नदीजन्य पदार्थको चोरी भएको हो । कनरी र भर्तापुर नाका जस्तै तिनाउ खोलामा पर्ने अन्य दर्जनौ स्थानबाट नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै चोरी निकासी हुने गरेको छ । स्थानीय तस्करहरूले नदी कब्जामा लिएर नदीजन्य पदार्थको दोहन गर्ने गरेका छन् ।
स्थानीय सरकारको राजश्व सङ्कलनको प्रमुख श्रोतको रूपमा रहेको नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै चोरी निकासी गर्दा एकातर्फ स्थानीय सरकारको लाखौँ राजश्व गुमेको छ भने अर्को तर्फ नदी संरचनामा समेत गम्भिर असर पुगेको छ ।
तिनाउ नदीमा स्थानीय नागरिकलाई प्रयोग गरेर नदीजन्य पदार्थको चोरीमा सक्रिय गिरोहले अवैध रूपमा उत्खनन् गर्दै रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेको पालिकाका रेखालुको आरोप छ ।
सियारी गाउँपालिकाका रेखालु लेखराज लोधले स्थानीय सरकार र प्रहरी प्रशासनलाई चुनौती दिँदै नदीबाट बालुवा चोरी हुने गरेको बताउनुभयो । उहाँले आफूले प्रहरी प्रशासन र पालिकालाई खबर गरेर प्रहरी आउँदासम्म चोरी गरेर भाग्ने गरेको बताउनुभयो । उहाँका अनुसार तस्करहरूले रातको समयमा खोलाबाट बालुवा चोरी गर्ने गरेका छन् । तिनाउ खोलामा सियारी ३ र ७ मा पर्ने कनरी र भर्तापुर नाकामा ठुला ठुला खाल्डा पारेर बालुवा चोरी गर्ने गरेका छन् । नदीजन्य चोरीमा सक्रिय गिरोहले प्रहरी प्रशाशनलाई चुनौती दिँदै रात दिन नै चोरी गर्ने गरेका छन् ।
सियारी गाउँपालिकाले दुई वटा नाकामा अनुगमन गर्दै दुवै नाकाबाट व्यापक मात्रामा नदीजन्य पदार्थको चोरी भएको पाइएको हो । तस्करहरूले नदीको छेउदेखि बिचसम्म ठुलै पोखरी आकार बनाएर नदिजन्य पदार्थ चोरी गरिरहेको फेला परेपनि अनुगमन टोली पुग्दा तस्करहरू भने भागिसकेका थिए ।
सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारूले नदीबाट नदीजन्य पदार्थको व्यापक मात्रामा चोरी भएको बताउनुभयो । उहाँले अवैध रूपमा उत्खनन गर्नेहरू विरुद्ध विशेष अप्रेसन चलाइने बताउँदै चोरी निकासी गर्ने व्यक्तिलाई कडा कानुनी कारबाहीमा जाने बताउनुभयो । नदीबाट नदीजन्य पदार्थको चोरी निकासी बढ्दा सरकारको राजश्व गुम्नुका साथै प्राकृतिक रूपमा समेत नदीमा ठुलो क्षती पुगेको बताउनुभयो ।
कानुन विपरीत खोला तथा नदीबाट उत्खनन भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने व्यक्ति तथा समुहको खोजी गरी कडा कानुनी कारबाहीमा जानु पर्ने उहाँको भनाइ छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नदी दोहन गरेर नदीजन्य पदार्थको चोरी निकासी गर्ने व्यक्ति तथा समुहको खोजी भइरहेकाे बताउनु भयो । नदीजन्य पदार्थको संरक्षणका लागि स्थानीय सरकारसँगै मातहतको प्रहरी युनिट पनि जिम्मेवार बन्नुपर्ने बताउँदै काम गर्न नसक्ने प्रहरीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही थाल्ने बताउनुभयो ।
"व्यक्तिको घर चोरी हुनु र सार्वजनिक सम्पत्ति चोरी हुनु प्रहरी प्रशाशनका लागि एउटै हो, त्यसैले सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार भएर लाग्न निर्देशन दिएको छु", प्रजिअ घिमिरेले भन्नुभयो, "काम गर्न नसक्ने प्रहरी कारबाही भोग्न तयार हुन्छन् ।"