रामकृष्ण बोहरा
बागलुङ, माघ २१ गते । बागलुङको विद्यामन्दिर पुस्तकालयले बसन्त पञ्चमीको पूर्वसन्ध्यामा विद्यालय उमेरका नानीबाबुहरुका लागि बाल पुस्तकालय सञ्चालनमा ल्याएको छ । बसन्त यामअगावै विद्यामन्दिरले बाल पुस्तकालय सञ्चालन गर्ने लक्ष्यका साथ आर्थिक तथा सहयोग सङ्कलन अभियान सुरु गरेको थियो ।
पुस्तकालयको ७८ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बाल पुस्तकालयको उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले बालमैत्री नगर अभियानलाई दिगो बनाउन बाल पुस्तकालयले महत्त्वपूर्ण योगदान पुर्याउने चर्चा गर्नुभयो । गत माघ ९ गते बागलुङ नगरपालिकालाई भव्य कार्यक्रम गरी बालमैत्री नगर घोषणा गरिएको थियो ।
पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेको थियो । बाल पुस्तकालयको स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले चार अक्षयकोष खडा गरेको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बागलुङका स्थानीय तहबाट पनि सहयोग प्राप्त भएको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयका पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु. ५५ हजार पाँच सय ५५ रुपियाँ को अक्षयकोष स्थापना गर्नुभएको हो । गलकोट मल्मका लक्ष्मी थापा, अष्ट्रेलियामा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौंमा रहनुभएका कृपा थापाले दिवंगत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु. ५१ हजार आठ सय १७ रुपियाँको ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको छ ।
यस्तै, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ का गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा ५० हजार राशीको र बागलुङ–२ निवासी सुन्दरी श्रेष्ठले आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
पुस्तकालयका लागि आवश्यक सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री सहयोगदाताहरुले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो । बाल पुस्तकालयका लागि झण्डै १२ लाख रुपियाँ खर्च गरिएको छ । बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै बालबालिकामा पठन सीपको विकास गर्ने उद्देश्यले बाल पुस्तकालय सञ्चालन गरिएको थापाले बताउनुभयो ।
धवलागिरिको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि सञ्चालित छ ।