गोकर्ण पौडेल
तुलसीपुर, माघ २० गते । देउखुरी क्षेत्र भएर बग्ने राप्ती नदीमा घडियाल गोही भेटिएको छ । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजातिका रूपमा मानिएको घडियाल गोही लमही नगरपालिका वडा नम्बर ४ भएर बग्ने राप्ती नदी सिमसार क्षेत्रमा चरा गणनाका क्रममा भेटिएको हो ।
वन्यजन्तु संरक्षणकर्मी चिरञ्जीवी खनालका अनुसार अति सङ्कटापन्न अवस्थामा रहको घडियाल गोही सफा र निरन्तर बगिरहने ठुला नदीमा मात्रै पाइने गर्दछ । उहाँका अनुसार घडियाल गोही बाघभन्दा २० गुणा दुर्लभ तथा अति सङ्कटापन्न अवस्थामा रहेको जन्तु हो ।
घडियाल गोही नदी किनारमा रहेका अग्ला बालुवाको ढिस्काहरूमा जाडोयाममा घाम ताप्ने र प्रजननको समयमा अण्डा पार्ने कोरल्ने गर्दछ ।
संरक्षणकर्मी खनालका अनुसार गत वर्षसमेत घाइते अवस्थामा एउटा घडियाल गोही राप्ती नदीमा भेटिएको थियो भने यस वर्ष भने सकुशल अवस्थामा एउटा घडियाल गोही भेटिएको छ । खनालले यो गोही कसरी यहाँ आइपुग्यो भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको बताउनुभयो । चरा गणनाका क्रममा राप्ती नदीमा यस अघि मगर गोही भने भेटिएको थियो । नेपालमा यो गोही चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन्छ ।