भावना जोशी
अत्तरिया, माघ १९ गते । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित पारी खेल्नुभयो ।
यस्तै, विनोद भण्डारीले ४२ रन बनाउनु भयो । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १-१ विकेट लिनुभएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले ३२, निरज ऐरले २७, कप्ता नारायण जोशीले १५ रन बनाए ।
डडेल्धुराका राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि बिष्टले २-२ तथा हेमन्त धामीले १ विकेट लिनुभयो । खेलका म्यान अफ द म्याच डडेल्धुराका कुसल भुर्तेल बन्नुभयो । यसअघि प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उदघाटन गरेका गर्नुभएको थियो ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपियाँ प्रदान गरिने छ ।