• १९ माघ २०८१, शनिबार

खोप अभियान सफल बनाउन मुस्लिम धर्मगुरुको प्रतिबद्धता

blog

मुस्लिम धर्मगुरु र शिक्षकलाई खोप अभियान बारे जानकारी दिन आयोजित कार्यक्रम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १९ गते। बाँकेका मुस्लिम धर्मगुरु र शिक्षकले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानलाई सफल पार्ने प्रतिवद्धता जनाएका छन्।

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका मुस्लिम धर्मगुरु र मुस्लिम शिक्षकलाई खोप अभियान बारे जानकारी गराई सहयोग लिने उदेश्यले आयोजना गरेको अन्तरक्रियामा सो प्रतिबद्धता जनाइएको हो।

बाँके युनेस्को क्लबसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सहभागी धर्मगुरु र शिक्षकले एचपिभी खोप अभियानमा बढी भन्दा बढी मुस्लिम समुदायका लक्षित बालिकालाई सहभागी गराउने वातावरण बनाउने प्रतिबद्धता जनाएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।

मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा नुरानी, मौलाना डा. ओबेदुर रहमान खान र मौलाना मुजाहिद रजा कादरीले खोप लगाएर बालिकालाई क्यान्सरबाट सुरक्षित राख्ने अभियान बाँकेमा सफल पारिने प्रतिबद्धता जनाउनुभएको थियो।

माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकलाई जानकारी गराई १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकालाई बढी भन्दा बढी सहभागी गराउने उदेश्य रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो।  

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका २५ मुस्लिम धर्मगुरु र ४७ जना  शिक्षकको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो।

बाँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ जना र विद्यालय बाहिर रहेका दुई हजार ८५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई एचपिभी खोप लगाउने छन्। 

जिल्लाका ३७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि ४५९ वटा खोप केन्द्र तोकिएको छ।ती मध्ये ३७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर राखिएका छन्।