काठमाडौँ, माघ १९ गते । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार दिउँसो सुरु हुने खेलमा नेपाल सिरिजमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्ससँगको रोमाञ्चक खेलमा जितका लागि एक सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो ।
यता थाइल्यान्ड भने दोस्रो जित निकाल्ने तयारीमा छ । शुक्रबार भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।
नेपाल र थाइल्यान्डबिचको यसअघिका भिडन्तमा थाइल्यान्ड बलियो देखिएको छ । यसअघि भएका तीन वटा टी–२० भिडन्तमा नेपाल सबै खेलमा पराजित भएको थियो ।