पुलुकिसी अर्थात् मान्द्रोले छोपी बनाएको हात्ती । बाँसनिर्मित मान्द्रोले छोपी त्यसमा कपडाले बेरी हात्ती जस्तो आकार दिइन्छ, जसलाई पुलुकिसी भन्ने गरिन्छ । उपत्यकाका नेवार बस्तीमा विभिन्न जात्रा पर्वमा पुलुकिसी निकाल्ने गरिन्छ तर त्यो एउटै समयमा हुँदैन । भक्तपुरमा इन्द्रजात्राको बेला मू पात्र र पुलुकिसी भिन्दाभिन्दै निकालिन्छ । काठमाडौँमा इन्द्रजात्राकै बेला निकालिन्छ । काठमाडौँमा निकालिने पुलुकिसीलाई तानाकिसी पनि भन्ने गरिन्छ । थिमिमा माघ शुक्ल एकादशी र मध्यपुरको नगदेशमा माघ शुक्ल द्वादशीमा पुलुकिसी निकालिन्छ । काठमाडौँमा कुमारी जात्रासँगै मजिपा लाखय्, सव भकुद्यः सँगसँगै निकालिने पुलुकिसी नाच र भक्तपुरमा निकालिने मू पात्र र पुलुकिसी नाचसँग मध्यपुरको थिमि र नगदेशमा निकालिने पुलुकिसी नाच धेरै फरक देखिन्छ । काठमाडौँ र भक्तपुरमा इन्द्रजात्राको कथासँगै जोडिए जस्तै मध्यपुरको पुलुकिसी नाच स्वस्थानी व्रतकथासँग जोडिएको देखिन्छ तर मध्यपुरको पुलुकिसी नाच कहिलेदेखि सुरु भएको भन्ने तथ्य पाइन्न । मध्यपुरको नगदेशमा पुलुकिसी नाच ज्यापू जातिले नै निकाली आएको पाइन्छ । थिमिमा कुतु र भासिमाहरूले पुलुकिसी निकाल्ने गरेका छन् ।
पुलुकिसीको तयारी
माघ शुल्क एकादशीको दिन निकालिने पुलुकिसी नाचको आठ÷दस दिनअघि नै नासःद्यः नृत्य देवताको साधना गरिन्छ । गुरुको घरमा अथवा नर्तकको घरमा नृत्यका देवता स्थापना र पूजा गरी नाचको प्रशिक्षण सुरु गरिन्छ । नाच निकाल्ने दिन टोलमा स्थापना गरिएको नासःद्यःमा सबैै गई पूजापछि भोज गरिन्छ । व्रत बसेका सहस्रधारा पानी थाप्नेहरू, प्वालयुक्त कलश तीन वटा राखी बनाएको खट टाउकामा बोकेर शङ्ख बजाएर हनुमन्ती खोलामा जाने गरिन्छ । ब्राह्मणले हनुमन्ती खोलाको बगरमा नारायण देवता स्थापना गर्दछन् । कागले ननाघेको चोखो पानी (बिहान उज्यालो नभएको बेला थापेको पानी) त्यहीँ भरिराखेको हुन्छ । ब्राह्मणले नारायण पूजा गरी बिहान थापी राखेको चोखो पानीबाट सहस्रधारा पानी थाप्ने कार्य सुरु गरिन्छ । व्रmमैसँग पानी थापी उनीहरूकै साथमा माधवनारायणलाई ल्याई बालकुमारी मन्दिरको दाहिनेपट्टि वामुने टोलस्थित नारां फल्चा, नारायणपाटीमा देवता राखिन्छ । यो पाटी सहरको बाहिर सहरसँगै टाँसिएको पाटी हो । सहस्रधारा पानी थाप्नेहरू नगरको सांस्कृतिक मार्ग हँुदै नगर प्रवेश गर्छन् । उनीहरूको पछि पछि माघ महात्म्य भजन गाउनेहरू देवताका मूर्तिको चित्र अङ्कित ध्वजा बोकी माघको गाथा ‘हर शिव माधव’ गाउँदै हिँड्छन् । बालकुमारी, मरु, लायकू, इनाए, दिगूलि, कुतिंचिभा, चपाचो, गुङ्गचिभा हुँदै सहरको उत्तरपट्टि नगरको बाहिर जहाँ माधवनारायण स्थापना गरी राखिएको छ, बाहाखाछेउ पुगेपछि विश्राम लिइन्छ ।
बालकुमारीदेखि बाहाखासम्मको बाटोका पेटी, पाटी, मन्दिरका सिँढी र केही नभएको ठाउँमा मञ्च (खट) बनाई भाँडोमा पानी भरी राखेको हुन्छ । सहस्रधारा जल थाप्नेहरूलाई परम्परागत पोसाकमा निराहार बसी महिलाले जल प्रवाह गरिदिन्छन् । कलश बोक्ने मान्छे घुँडाले टेकी पानी थाप्छन् । थिमिको बाहाखासँगै सहरको पुछारमा स्थापना गरी राखेको माधवनारायण मन्दिर पुगेपछि कलश बोक्नेहरू त्यहीँ रोकिन्छन् । नारायण देवता नल्याएसम्म कलश निकाल्न हुँदैन ।
पुलुकिसी नाच निकाल्ने खलकहरू नाचको देवता नासःद्यः पूजा गरी खलकहरू, वाद्यवादक, म्वाहालीवादक, सहयोगी सबै जम्मा भई नेवार परम्परा अनुसार भोज खाने गर्छ । भोज खाइसकेपछि ३÷४ बजेतिर बाँसबाट बनाई कपडाले छोपी हात्तीको मुकुण्डो लगाइराखेको हात्तीलाई चार जना मान्छेले बोक्छन् । त्यसको पछि पछि बाजा टोली र हात्ती चढी नाच्ने नर्तक राजसी पोसाकमा पगरी लगाई ढाल तरबार भिरी बाजाको तालमा पद लिई हिँड्छन् । बालकुमारी मन्दिरको दाहिनेपट्टि वामुने टोलको नारां फल्चा नारायण भएको पाटीनिर पुग्छन् । त्यहाँ ब्राह्मणले नारायणको मूर्ति राखिराखेको हुन्छ । सँगसँगै नागःचा भन्ने मुकुण्डो लगाई एक जना पात्र हातमा कोदालो बोकी र एक जना केटीको भेषमा हातमा कुचो (च्वाफी) समाई त्यहाँ पुग्छ । त्यहाँ पुलुकिसी चढ्ने नर्तकलाई देवता पूजा गर्न लगाई ब्राह्मणले साइतमा विधिविधान अनुसार मन्त्रोचारण गरी अभिषेक दिन्छ । टीका लगाई पूmलप्रसाद दिई पूmलमाला पहिराइदिन्छ । अनि पूर्वाभिमुख हात्ती चढाइदिन्छ र सुरु हुन्छ पुलुकिसी नाच ।
नगरको सांस्कृतिक मार्ग हुँदै मुकुण्डो लगाई कोदालो बोकी बाटो सफा गरेको नक्कल गरी नागःचा र केटीको भेषमा हातमा कुचो बोकी बढारेको नक्कल गरी दुई जना पात्र अघि अघि आउँछन् । ती कलाकार हाँस्यका पात्र हुन् । जहाँ जहाँ मानिसको हुल हुन्छ, त्यहाँ त्यहाँ गई कुचो र कोदालो चलाई हँसाइरहन्छ । चार जना मान्छेले भित्रपट्टिबाट पुलुकिसी बोकी नर्तकलाई हात्ती चढ्न दिइन्छ । पछि पछि बाजाको तालमा पुलुकिसी माथि चढेर नाच्दै आउँछ । चार जनाले बाजाको ताल मिलाई पदको चाल लिन्छ । पुलुकिसी चढ्ने मान्छे राजसी पोसाकमा पगरी (श्रीपेच) लगाई हातमा ढाल तरबार लिई बाजाको तालमा मुद्रा चलाई तरबार नचाई नगर परिक्रममा गर्छ । अन्त्यमा नगरको उत्तरपट्टि पुछारमा माधवनारायणको मन्दिर पुगेपछि सो दिनको नाच समाप्त हुन्छ ।
त्यहाँ ब्राह्मणले पूजा गरी हात्तीबाट ओरालिदिन्छ । सहस्रधारा पानी थाप्नेहरूको पनि ब्राह्मणले पूजा गरी टाउकोमा बोकेको खटसहितको कलश निकालिदिन्छ । त्यहाँ ल्याइराखेका माधवनारायणको मूर्तिलाई पानी थाप्नेहरूले शङ्ख बजाएर ब्राह्मणको घरमा पु-याइदिन्छन् । पुलुकिसी चढ्ने नर्तक पनि त्यहीँबाट बाजाको तालमा नाचेर हाउभाउ गरी टोलीसहित आआफ्नो घरतर्फ लाग्छन् । त्यस दिनको पुलुकिसी जात्रा यहीँ सम्पन्न हुन्छ ।
पुलुकिसीको सांस्कृतिक पक्ष
किंवदन्ती अनुसार परापूर्वकालमा महादेवको श्रापले सगर राजाको कुल भष्म भएछ । कालान्तरमा उनका सन्तान भगीरथ राजाले आफ्नो कुलका पितृको उद्धार गर्न कठोर तपस्या गरे । उनको तपस्याबाट प्रसन्न भएका भगवान्ले वरदान माग भन्दा भगीरथ राजाले भने, “मेरा पूर्खा श्रापले भष्म भई खरानी भएछन् । अब उहाँहरूको उद्धार गरिपाऊँ ।” त्यसपछि भगवान्ले भने, “यी खरानी भएका तिम्रा पितृको उद्धार गर्न स्वर्गबाट गङ्गा आउने छिन् । गङ्गाले भष्म भएको खरानी बगाएपछि तिम्रा पितृको उद्धार हुन्छ ।” भगवान्बाट यस्तो आज्ञा भएपछि भगीरथ फेरि गङ्गाको तपस्या गर्न थाले । भगीरथको तपस्या देखेर स्वर्गमा गङ्गा प्रसन्न भई ‘स्वर्गबाट गङ्गा पृथ्वीमा झर्दा पृथ्वी प्वाल पर्छ के गर्ने’ भनिन् । गङ्गाको वचनबाट आजित भई भगीरथ राजाले फेरि भगवान् शिवको आराधना गरे । शिवजी प्रकट भएपछि गङ्गाको सबै कुरा शिवजीलाई सुनाए । गङ्गाको घमण्ड थाहा पाई स्वर्गबाट गङ्गा झर्दा शिवजीले आफैँ थाप्ने वचन दिए । हाम्रो पुराणमा वर्णन गरेको प्रतीक नै यो माघ जात्रा सहस्रधारा पानी थाप्ने हो भनी किंवदन्तीमा पाइन्छ । शिवजीको प्रतीक सहस्रधारा पानी थाप्ने र गङ्गाको प्रतीकमाथिबाट पानी झार्ने हो भन्ने मान्यता समाजमा छ ।
स्वर्गबाट पृथ्वीलोकमा गङ्गा आउँदै छिन् भनी थाहा पाएर स्वर्गका राजा इन्द्रदेव गङ्गाको दर्शन गर्न आफ्नो वाहन ऐरावत हात्ती चढी पृथ्वीलोकमा आएको प्रतीकमा पनि पुलुकिसी नाच अथवा पुलुकिसी जात्रा हो भन्ने गरिन्छ । त्यसैले पुलुकिसीलाई ऐरावत हात्ती पनि भन्ने गरिन्छ । पुलुकिसी चढ्ने मान्छेलाई इन्द्रको प्रतीक मान्दछन् । त्यसैले हात्ती चढ्ने मान्छेले पगरी (श्रीपेच), राजसी पोसाक लगाई हातमा ढाल तरबार बोकी नाच्ने गरेको पाइन्छ ।
अर्कोतर्फ भागवत महापुराणको कथासँग सम्बन्धित भएको पनि कथन छ । भगवान् विष्णुका १० अवतारमध्ये एउटा अवतार हो, वराह अवतार । उक्त अवतारको कथा अनुसारको कथन यस्तो छ, हिरण्याक्ष दानवले पृथ्वी चोरेर लगी अथवा लुटेर लगी समुद्रभित्र लुकाई राखेछ । त्यहीबेला भगवान् विष्णु वराह अवतार लिई समुद्रभित्रको पृथ्वी उठाएर ल्याई संसारभित्रका प्राणीलाई उद्धार गरेको पनि माघ महिनामा परेकाले माघ महिनाभरि बिहान स्नान गरी व्रत बस्दा पुण्य हुन्छ भनी उल्लेख भएको पाइन्छ ।
माघ महिनामा देवता, जडीबुटीहरू पानीभित्र पर्ने भएकाले माघ महिनामा नुहाइधुवाइ गर्दा, पानीमा डुबुल्की मार्दा आरोग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । माघ महिनाको पानीको महŒव भएकाले होला अहिले पनि हाम्रा आमा, बाजेहरूले ध्याम्पामा माघको पानी जम्मा गरी दुई तीन महिनापछि जाँडरक्सी बनाउन प्रयोगमा ल्याउँछन् । माघको पानी राखी जाँडरक्सी बनायो भने जाँडरक्सी मिठो र राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ ।
माघ महात्म्यमा पनि पुलुकिसी जात्रा उल्लेख भएको पाइन्छ । माघ महिनामा वाचन गरिने स्वस्थानी कथासँग पनि पुलुकिसी सम्बन्धित देखिन्छ । स्वस्थानी महात्म्यको अध्याय ३० मा यसबारे उल्लेख भएको छ । चन्द्रज्योति नगरका शिव शर्मा ग्वः मयजुको कोखबाट जन्म भएका नवराज ब्राह्मण आफ्ना पिताको खोजखबर लिन हिँडेका बेला लावण्य देशमा नगरबाहिरको पाटीमा बसिरहेका थिए । उक्त पाटीमा बसिरहेका नवराजलाई हात्तीले राजा छानी, चढाई जात्रा गरी नगर परिव्रmममा गराएको प्रतीक नै पुलुकिसी जात्रा हो भन्ने लोकोक्ति प्रचलनमा छ । थिमिको पुलुकिसी जात्रा हेर्दा साँच्चिकै नवराज राजा घोषणा गरी, हात्ती चढाई, जात्रा गरी ल्याएको हो कि जस्तो लाग्छ । नवराज शर्मालाई हात्तीले अमृतघडाबाट अभिषेक चढाई राजा घोषणा गर्दा पनि नगरको बाहिर नगरसँगैको पाटीमा बसिरहेको भनी कथामा उल्लेख भए झैँ थिमिमा पुलुकिसी चढ्ने मान्छेलाई ब्राह्मणले पूmलमाला लगाई मन्त्रोचारण गरी अभिषेक दिई हात्ती चढाइदिने पाटी पनि नगरको पुछारमा रहेको पाटी हुन्छ ।
पुलुकिसी नाचको जात्रा हुने बेला पुलुकिसीको अगाडि मुकुण्डो लगाई नाचकै लुगामा नागःचा भन्ने पात्र र एक जना केटीको भेषमा आउने पात्रले च्वाफी (बाँसको चोयाले बनाएको कुचो) ले बढार्दै आए जस्तो नक्कल गरेर आउने र नागःचाले कोदालो चलाई बाटो सम्याई आएको जस्तो नक्कल गर्दै आएको पनि राजा सवारी भएको ठाउँमा बाटो सफा गर्दै आएको प्रतीक हो भन्ने गर्दछन् । यसरी पुर्खौंदेखि सञ्चालन गर्दै आएका थिमि नगदेशका पुलुकिसी नाच जात्रा प्रत्येक वर्ष माघ शुक्ल एकादशी र द्वादशीको दिनमा हुने गर्छ । पहिला पहिला यस्ता सांस्कृतिक महŒवका नाच, जात्रा प्रत्येक साल हुन्थे । अचेल पाँच/दस वर्षमा एक पटक आक्कलझुक्कल मात्र देख्न पाइन्छ । निरन्तरता दिन सकेको छैन ।
थिमिको पुलुकिसी नाचमा बजाउने बाजा नायुखिं र छुस्याय मात्र हो । सुर बाजामा म्वाहाली नै बजाइन्छ । घरबाट हिँडेर जाँडा हात्ती नचढेसम्म बाटोमा चो ताल बजाइन्छ । वसन्त लयमा म्वाहाली बजाउँदै गएको पाइन्छ । हात्ती चढेर आउँदा थरी थरीका विशिष्ट तालमा गौ र इन्द्र ताल बजाइन्छ । हात्तीबाट ओर्लेर घर फिर्ने बेलामा भने धमाक ताल बजाएर वसन्त राग बजाउँदै फिरिन्छ । पुलुकिसी नाचमा बजाउने बाजा बोलको एक टुक्रा यस प्रकारको छ–
दँ जक दनपा पाकदनपा पाकं दनपा कुई ।।
दन जक दनपा पाकदनपा पाकं दंपा कुई ।।