• १९ माघ २०८१, शनिबार

रातमा सुरु भएर रातमै सकिने भड्छा मेला

blog

बुटवल समाचारदाता

बुटवल, माघ १९ गते  । रातिमा सुरु भएर रातिमै समापन हुने रुपन्देहीको भड्छा मेला शुक्रबार सम्पन्न भएको छ । हरेक वर्ष माघेऔँसीका दिन सुरु भएर तीन दिन रातमै हुने गर्छ । मेला भन्नेबित्तिकै दिउँसोमा हुने रमाइलो नाचगान र वस्तुहरूको किनबेच बुझ्ने गरिन्छ तर रुपन्देहीको सैनामैनास्थित भड्छामा भने रातिमै मेला आयोजना हुँदै आएको छ ।  

थारू समुदायले आफ्ना पुर्खाले सुरु गरेको यो मेलालाई संरक्षण गर्न भन्दै अहिलेसम्म निरन्तरता दिइरहेका छन् भने यो वर्ष पनि माघेऔँसीको अवसर पारेर सैनामैना नगरपालिका–८ को भड्छा गाउँमा ११२ औँ संस्करणका रूपमा सम्पन्न भएको हो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित थारू समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिनुभयो । मेलामा स्थानीयस्तरमा उत्पादित सामग्रीको बिक्री तथा थारूहरूको सांस्कृतिक नृत्य झुमडा, झर्रा र मयूर नृत्य प्रस्तुत गरिएको थियो ।