काठमाडौँ, माघ १८ गते। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अधिवेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाउनुभएको छ। राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद भएको बताउनुभयो।
उहाँले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउनु दुःखद भएको बताउनुभयो। उहाँले सरकारले अध्यादेशबाट शासन गर्ने प्रवृत्ति लिएको भन्दै आपत्ति जनाउनुभयो।
उहाँले भन्नुभयो, ‘यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो। हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरु धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो। अहिले त्यो अध्यादेश प्रस्तुत हुँदैछ। विधेयक अधिवेशनलाई अध्यादेशको अधिवेशन बनाउन खोज्यो सरकारले। त्यसप्रति म दुःख प्रकट गर्दछु। सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु।’
सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनी काम गर्नुपर्ने बताउनुभयो।