मनाङ समाचारदाता
मनाङ, माघ १७ गते । माथिल्लो मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । तिलिचो तालको आधार शिविर र थोराङ्ला भन्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेपछि यो बाध्यता हटेको हो । प्राधिकरणले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको आधार शिविरसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–९, खाङ्सारमा चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताउनुभयो । राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीका साथै स्थानीयलाई सहज भएको उहाँले बताउनुभयो । यहाँका स्थानीयले विद्युत् उपयोगमा वृद्धि भएको, पानी उमाल्न पनि बिजुलीको नै प्रयोग गरेको बताएका छन् । महँगो ढुवानी ज्याला तिरेर किनिएको ग्यासको खपत कम हुँदै गएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुको राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१, स्याक्र्यु ३३/११ केभी सबस्टेसनमा पुगेको छ । सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ ।