• ९ वैशाख २०८२, मङ्गलबार

माघेऔँसी मेलामा देशैभरका भक्तजन

blog

त्रिवेणीधाममा भक्तजन ।

नवलपरासी समाचारदाता  

त्रिवेणीधाम, माघ १७ गते । पूर्वी नवलपरासीको प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधाम नेपालकै पवित्र तीर्थस्थल हो । यहाँ हरेक वर्ष माघेऔँसीमा मेला लाग्ने गर्दछ । यस वर्ष पनि मङ्गलबारबाट सुरु भएको माघेऔँसी मेलामा हिजो बुधबार औँसीका दिनमा देशैभरका तीर्थालुको घुइँचो नै लागेको थियो । 

हरेक वर्ष तीन दिनसम्म लाग्ने माघेऔँसी मेला भर्न यस वर्ष पनि लाखौँ भक्तजन त्रिवेणीमा जम्मा भएका थिए । देशभरबाट भक्तजन आएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । यस मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति रहेको अध्यक्ष गिरीको भनाइ छ । धार्मिक, ऐतिहासिक तथा मनोरम पर्यटकीय क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटक पनि घुम्नका लागि यहाँ आउने गर्दछन् । धार्मिक पर्यटकीय क्षेत्रका रूपमा यो स्थान प्रसिद्ध रहेकाले पनि माघेऔँसीको मेला विशेष हुने अध्यक्ष गिरी बताउनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष त्रिवेणीमा मेला भर्न आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको मेला आयोजक समितिका सदस्य आरपी उपाध्यायले बताउनुभयो । विनयीत्रिवेणी गाउँपालिका–६ र ७ को सङ्गममा रहेको त्रिवेणीधाममा तीन दिनसम्म चल्ने मेलामा विशेष गरी माघेऔँसीको दिन अर्थात् बुधबार बिहान भक्तजनले त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गरी सूर्यको आराधना गरेका थिए ।  त्रिवेणीधाममा माघेऔँसीमा स्नान गरे पाप नाश हुने र पुण्य प्राप्त हुने विश्वास रहेको छ ।

यहाँबाट गजेन्द्रमोक्ष दिव्यधाम, वाल्मीकि आश्रमलगायतका मठमन्दिर तथा तीर्थस्थल दर्शनका लागि प्रसिद्ध रहेको स्थानीय समाजसेवी निरञ्जन रेग्मी थापाले बताउनुभयो । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदी गरी तीन नदीको सङ्गममा रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधाममा नेपाल र भारतबाट लाखौँ तीर्थालु सोमबारदेखि नै आउने क्रम सुरु भएको र सबैभन्दा भिड बुधबार हुने भएकाले सुरक्षा व्यवस्था अत्यन्त बलियो बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । यो वर्ष यहाँ आउने श्रद्धालु भक्तजनलाई मेलामा स्नान गर्नेदेखि पूजापाठ गर्नका लागि सरल र सहज वातावरण बनाउनका लागि मेलामा करिब चार सय सुर‌क्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

हिन्दु मान्यता अनुसार विशेष गरी माघेऔँसीका दिन त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गरेपश्चात् सूर्यको आराधना गरी त्यहाँ निर्माण गरिएको शिव मन्दिरमा पूजा गरेपछि हरेक मनोकामना पूरा हुने विश्वास रहेको गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कमलनयनाचार्यले बताउनुभयो । धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्व बोकेको तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधामको विकासमा गण्डकी सरकारले समेत चासो दिन थालेको गण्डकी प्रदेशका पूर्वमन्त्री महेन्द्रध्वज जिसीले बताउनुभयो ।