• १८ माघ २०८१, शुक्रबार

समृद्धिमै सहिदको सम्मान

blog

जीवको अस्तित्व पृथ्वीमा मात्र छ । आफ्नो निम्ति सबै प्राणीले जीवनयापन गरिरहेका छन् । तमाम जीवमध्ये मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसले सकभर आफूसँगै अरूको भलाइमा पनि काम गर्ने अपेक्षा गरिन्छ तर सबै मानिसले अरूको भलाइमा समान तवरले काम गर्न सक्दैनन् । अरूको भलाइ मात्र होइन, समाज र समग्र देशकै निम्ति भलाइ गर्ने र आवश्यक परे प्राणकै आहुति दिने मानिस भने बिरलै हुन्छन् । समग्र देशवासीको अधिकारका निम्ति प्राण उत्सर्ग गर्ने ती महान् बिरल व्यक्तित्व सहिद हुन् । सहिद मरेर पनि चिरकालपर्यन्त बाँचिरहन्छन् । सहिदको त्यस अमरत्व प्राप्त गर्ने क्रूर मृत्युमै जनताले अधिकार र स्वतन्त्रता प्राप्त गरिरहेका हुन्छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयनको बाटो खोलिएको हुन्छ । शताब्दी लामो क्रूर राणाशासन चार सपुतको अमरत्वको जगमै अन्त्य भयो । पछिल्ला सबै परिवर्तनमा अनेक सहिदले आहुति दिएका छन् । त्यसै सम्झनामा माघ १० देखि १६ गतेसम्म देशले सहिदलाई सप्ताहव्यापी सम्झन्छ । माघ १६ गते विशेष कार्यक्रम गरी सहिद दिवस मनाइन्छ ।

नेपालको इतिहासमा संवत् १९९७ कहिल्यै नबिर्सने क्रूर वर्ष बन्यो । शताब्दी शासन गर्न लागेको एकतन्त्रीय राणाशासनको थिचोमिचोले देशवासीको नागरिक अधिकार अन्धकारमा थियो । नेपाली जनताको रगतपसिना चुसेर सीमित परिवारका दरबार र महल खडा थिए । राज्यका सबै सम्पत्ति शासकको विलासिता बने । भोक र रोगले नेपाली जनता थिलथिलो थिए । सर्वसाधारणमा पढ्नेलेख्ने अधिकार थिएन । औद्योगिक क्रान्तिपछिको बजार विस्तारले उपनिवेश फैलियो तर दुई महायुद्धसँगै संसारमा स्वतन्त्रताको आगो दन्किन थाल्यो । संसार उठ्दै थियो । निरङ्कुशतन्त्र भने नेपालीलाई चिर निद्रामै राख्न चाहन्थ्यो । चार जना सपुत निस्किए– दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गङ्गालाल श्रेष्ठ । उनीहरूले त्यो अन्धकारमा नागरिक अधिकारको बिगुल फुके । ती चारै सपुतलाई १९९७ सालको यही माघ महिनामा राणाशाहीले क्रूरतापूर्वक ज्यान लियो ।

चारै सपुतको ज्यान लिने कुकार्य क्रूरतापूर्वक भएको थियो । शुक्रराज शास्त्रीलाई माघ १० गते राति टेकुस्थित पचलीघाटमा बकैनाको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो । राणाशाहीको ध्येय कोही नेपाली युवा अब कहिल्यै उठ्न नसकून् भन्ने थियो । शुक्रराज शास्त्रीको ज्यान लिएको पाँच दिनपछि धर्मभक्त माथेमाको ज्यान लिइयो । माघ १२ गते काठमाडौँको सिफलमा एउटा रुखमा झुन्ड्याएर उनलाई मृत्युदण्ड दिइयो । राजा त्रिभुवनसँग समेत नजिक रहेका माथेमाको ज्यान लिनु राजालाई समेत सबकमा राख्ने सन्देश थियो । सोही महिनाको माघ १५ गते अझ क्रूरता चरमचुलीमा पुग्यो । केन्द्रीय कारागारमा रहेका गङ्गालाललाई मध्यरातमा निकालियो । विष्णुमतीको किनार शोभाभगवती मन्दिरअगाडि लगेर माफी माग्न लगाइयो । माफी माग्ने कुरै थिएन । गङ्गालालले छातीमा गोली दाग्न चुनौती दिए । इतिहासकारका अनुसार जर्नेल नरशमशेरले सिपाहीलाई गोली हान्न आदेश दिए तर सिपाही डरले थरथरी काँप्न थाल्यो । जर्नेल आफैँले सिपाहीको बन्दुक खोसेर गङ्गालालको ज्यान लिए । त्यसै रात विष्णुमती नदीमै दशरथ चन्दको समेत गोली हानी ज्यान लिइएको थियो ।

चार सहिदको आहुतिपछि देशमा चुक घोप्टिए जस्तो सन्नाटा छायो तर असन्तुष्टि भने भुसको आगो सरह फैलियो । निर्वासित देशभक्तहरू सङ्गठित हुन थाले । राजनीतिक पार्टीहरू स्थापना हुन थाले । देशभित्र भूमिगत गतिविधिसँगै राणाविरुद्ध सचेतना व्यापक हुँदै गयो । फलस्वरूप नेपाली कांग्रेसले सशस्त्र क्रान्तिका साथ राणालाई घुँडा टेकायो । राजा त्रिभुवनको त्यस क्रान्तिमा साथ रह्यो । यसरी चार सहिदको आहुतिको भावभूमिमा शताब्दी लामो राणाशाही सात सालमा ढल्न सम्भव भयो । प्रजातन्त्रको उज्यालो घाम नेपालीले देख्न पाए तर प्रजातन्त्र संस्थागत गर्ने अनेक प्रयास सफलतातिर जाँदै गर्दा फेरि नेपाली जनताले २०१७ साल पुस १ गते राजा महेन्द्रको प्रजातन्त्रविरोधी कदमको सामना गर्नुपर्‍यो । देश पुनः निरङ्कुश शासनमा निसास्सियो । दुर्गानन्द झा, क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलगायत कैयौँ नेपाली सपुतले निरङ्कुशताविरुद्ध ज्यान दिए । ती वीरको रगत अनि जनआन्दोलनले छयालिस सालको परिवर्तन सफल भयो । यस्ता अनेक निरङ्कुश कदमविरुद्ध धेरै सपुतको बलिदानमा नेपाल अहिले सङ्घीय लोकतान्त्रिक अभ्यासमा छ । अझै चाहेको समृद्धि हासिल हुन सकेको छैन । समृद्ध नेपालले नै सहिदप्रति सच्चा सम्मान दिन सक्नेतर्फ गम्भीर हुनु आवश्यक छ ।