काठमाडौँ, माघ १६ गते । हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फ काठमाडौँकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासङ्घले आयोजना गरेको प्रतियोगितामा बुधबार छैटौँ चरणको समाप्तिमा साविक विजेता सिन्दारा जोशीलाई कडा टक्कर दिनुभएकी १३ वर्षीय एञ्जलले समान पाँच अङ्क बनाउनुभएको छ ।
सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाउनुभयो । एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउनुभयो । दोस्रो स्थानमा रहन सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालको ४.५ अङ्क छ ।
यस्तै झापाकी पुनम प्रसाईं र काठमाडौँकी विनिता कपाली समान चार अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ । यस्तै पु्रुषमा एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अङ्क जोड्दै एकल अग्रता बनाउनुभएको छ ।
रुपेशलाई चार अङ्क जोड्दै मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाडौँका पुरुषोत्तम सिलवालले पछ्याउनु भएको छ । तीनै जनाको समान चार अङ्क छ ।
प्रतियोगिताको विजेताले काजकिस्तानमा हुने ४६औँ ओलम्पियाड, श्रीलङ्कामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा सहभागीता जनाउन पाउने प्रतियोगिता संयोजक एवं महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी दिनुभयो ।